२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


झापाका उम्मेदवारहरुको नालीबेली, कांग्रेसका सबै नयाँ, एमालेका पुरानै अनुहार


0
Shares

नयाँ अनुहार चुनावी मैदानमा उत्रिएसँगै उनीहरुले अहिले विजयोत्सवको शैलीमा सर्वसाधारणसँग मत मागिरहेका छन् ।

झापाका १५ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ९ प्रमुख पदमा समावेशी उम्मेदवार तयार पारेको छ, जसमध्ये सात गाउँपालिका रहेको झापामा सातजनै समावेशी उम्मेदवार छन् ।

८ नगरपालिकामध्ये दुई स्थानमा समावेशी उम्मेदवार तयार पारेको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए ।

नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले चार र राप्रपाले चार स्थानमा प्रमुख पदमा समावेशी उम्मेदवार तयार पारेका छन् ।

एमालेले तीन नगरपालिका र तीन गाउँपालिकामा समावेशी उम्मेदवार तयार पारेको छ ।

माओवादी केन्द्रले दुई नगरपालिका र दुई गाउँपालिकामा समावेशी उम्मेदवार उठाएको छ ।

राप्रपाले एक नगरपालिका र तीन गाउँपालिकामा समावेशी उम्मेदवार चयन गरेको छ ।

कांग्रेसमा सबै नयाँ अनुहार
नेपाली कांग्रेसले झापाका १५ स्थानीय तहमध्ये आदिवासी जनजाति, मधेसी र महिलालाई समेटेर उम्मेदवारी दिएको छ भने कोच राजवंशीको आदिमकालदेखि बसोबास रहेको यस जिल्लाका तीन स्थानका गाउँपालिका प्रमुखमा भूमिपुत्र आदिवासी राजवंशी समुदायबाट उम्मेदवार बनाएको छ ।

आदिवासी समुदायबाट कचनकवल गाउँपालिकामा कालेन्द्र राजवंशी, बाह्रदशीमा खड्गप्रसाद राजवंशी र गौरीगन्ज गाउँपालिकामा फूलवती राजवंशी (महिला)लाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी जिल्ला सभापति थापाले बताए ।

जनजाति समुदायबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा जलकुमार गुरुङ, कमल गाउँपालिकामा हुकुमसिंह राई, हल्दिबारी गाउँपालिकामा दिलीप माबो लिम्बू र बुद्धशान्ति गाउँपालिकामा रमेश भुजेललाई अध्यक्ष पदको उम्मेदवार बनाइएको छ ।

मधेसी रैथाने बासिन्दाको समुदायबाट गौरादह नगरपालिकाको प्रमुखमा रोहित साह र झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण साहलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ ।

कांग्रेसले चयन गरेका उम्मेदवारमा सबै नयाँ अनुहारका छन् । ‘२० वर्षअघि पनि तिनै र अहिले पनि तिनै अनुहारलाई जनताले भोट हाल्दैनन् । यो २० वर्षमा नयाँ मतदाताको संख्या उल्लेख्यरुपमा बढेको हुँदा नयाँ जोस, जाँगर र सोच भएका नयाँ अनुहारलाई नै प्राथमिकतामा राखेर उम्मेदवारी तय गरिएको छ’–पार्टी सभापति थापाले भने ।

उनकाअनुसार कांग्रेसले कुमरखोद गाविसका पूर्वउपाध्यक्ष जयनारायण साहबाहेक सबै नयाँ उम्मेदवार छन् ।

एमालेमा पुरानै अनुहार
एमालेले तीन नगरपालिका र तीन गाउँपालिकामा जनजाति र महिलालाई उम्मेदवार बनाएको छ ।

आदिवासी कोचको राजधानी मानिएको झापामा एमालेले आदिवासी समुदायबाट एकजना पनि उम्मेदवार बनाएको छैन भने मधेसी पनि उम्मेदवार छैनन् ।

एमालेले झापामा समावेशी उम्मेदवार बनाएकामा अर्जुनधारा नगरपालिकामा हरि रानामगर, भद्रपुरमा जीवन श्रेष्ठ र शिवसताक्षी नगरपालिकामा चन्द्र शेर्मा रहेका छन् ।

गाउँपालिकातर्फ एमालेले झापा गाउँपालिकामा गजेन्द्र ताम्लीलाई अध्यक्षमा उम्मेदवार बनाएको छ भने दुईओटा गाउँपालिकामा गैरआदिवासी जनजाति समुदायका महिलालाई अध्यक्षमा उम्मेदवार बनाएको छ ।

हल्दिबारीमा मञ्जु सिटौला र कमल गाउँपालिकामा मेनुका काफ्लेलाई अध्यक्ष पदमा टिकट दिइएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताए ।

एमालेले झापामा पुरानै अनुहारलाई पुनः उम्मेदवार बनाएको छ । २० वर्षपहिले जनप्रतिनिधि भएका पुरानै अनुहारलाई प्राथमिकता दिएर एमालेले उम्मेदवार तय गरेको हो ।

मेचीनगर नगरपालिकामा प्रमुखको उम्मेदवार विष्णु प्रसाइँ पूर्वजिविस उपसभापति हुन् । उनी पञ्चायतकालमा धाइजन गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए ।

त्यसैगरी, बिर्तामोडका प्रमुखका उम्मेदवार ध्रुव शिवाकोटी अनारमनी गाविसका पूर्वअध्यक्ष हुन् ।

अर्जुनधाराका प्रमुखका प्रत्यासी हरि रानामगर शनिश्चरे गाविसका पूर्वअध्यक्ष हुन् ।

त्यस्तै, भद्रपुरका प्रमुखका उम्मेदवार जीवन श्रेष्ठ सोही नगरपालिकाका पूर्वउपप्रमुख हुन् ।

कनकाई नगरपालिकाका प्रमुखका प्रत्यासी राजेन्द्र पोखरेल सुरुंगा गाविसका पूर्वउपाध्यक्ष हुन् ।

त्यसैगरी, दमक नगरपालिकाका प्रमुखका उम्मेदवार एमाले अध्यक्ष केपी ओलीका भतिजामात्र होइनन्, उनी २० वर्षअघि पनि दमक नगरपालिकाका प्रमुख बनेका थिए ।

बाह्रदशी गाउँपालिकामा एमालेले अध्यक्षको उम्मेदवार बनाएका लक्ष्मण पाठक डाँगीबारी गाविसका पूर्वअध्यक्ष हुन् र गौरीगन्ज गाउँपालिकाका अध्यक्षका प्रत्यासी श्याम ढकाल कोरोबारी गाविसका पूर्वअध्यक्ष हुन् ।

एमालेले पुराना र अनुभवी नेतालाई उम्मेदवार बनाएको दाबी गर्दै आएको छ ।

माओवादी केन्द्रमा को–कहाँका उम्मेदवार ?
सबैभन्दा धेरै समावेशीताको नारा लगाउने नेकपा माओवादी केन्द्रले झापाका दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानमामात्र समावेशी उम्मेदवार बनाएर चुनाव लड्ने भएको छ ।

भद्रपुर नगरपालिकामा शिवकुमार राजभण्डारी र मेचीनगर नगरपालिकामा हंशलाल राजवंशीलाई प्रमुखमा उठाउने निर्णयसहित पार्टी अघि बढेको छ ।

कचनकवल गाउँपालिका अध्यक्षमा हंशराज राजवंशी र गौरीगन्ज गाउँपालिकामा विद्यानन्द राजवंशीलाई अध्यक्षमा उम्मेदवार बनाएको माओवादी केन्द्रका नेता झलकसिंह दर्लामी सन्देशले बताए ।

कोच राजवंशीको कोचिला राज्यको वकालत गर्ने माओवादी केन्द्रले झापामा कांग्रेसले जति नै तीन स्थानमा आदिवासी राजवंशी समुदायबाट प्रमुख पदमा उम्मेदवार बनाएको छ । महिला र मधेसीलाई प्रमुख पदको उम्मेदवारमा उसले समेट्न सकेको छैन ।

राप्रपाले आदिवासीलाई उठाएन
राप्रपाले झापामा एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानमा समावेशी उम्मेदवार छनोट गरेको छ, जसअनुसार मेचीनगर नगरपालिकामा अशोक सुब्बा लिम्बूलाई प्रमुखको उम्मेदवार बनाइएको छ । लिम्बू आदिवासी समुदायका उम्मेदवार हुन् ।

त्यसैगरी, राप्रपाले कचनकवल गाउँपालिकाको अध्यक्षमा अल्पसंख्यक मुस्लिम समुदायका अन्जर आलमलाई अध्यक्ष पदमा उतारेको छ ।

हल्दिबारीमा रवीन्द्र लिङ्देन र गौरीगन्ज गाउँपालिकामा बाबुराजा श्रेष्ठलाई अध्यक्षमा टिकट दिइएको राप्रपा झापाका सचिव केशव ओझाले बताए ।

राप्रपाले आदिवासी कोच राजवंशी, मधेसी र महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छैन ।

दलितलाई आरक्षण कोटामा उम्मेदवार बनाएको भएपनि झापामा कुनैपनि दलले दलितलाई प्रमुखमा उम्मेदवार बनाएका छैनन् ।

माओवादी केन्द्र र राप्रपाले पनि नयाँ अनुहारलाई नै उम्मेदवार बनाएको छ ।

स्वतन्त्र उम्मेदवार पनि पुरानै
विवेकशील नेपाली दलबाहेक अन्य स्वतन्त्र उम्मेदवार बनेका पनि पुरानै अनुहारका छन् ।

बिर्तामोड, दमक, कनकाई नगरपालिकाका लागि स्वतन्त्र उम्मेदवार बनेका अधिकांश प्रमुख तथा उपप्रमुख पुरानै अनुहारका छन् ।