
उम्मेदवारी मनोनयनका लागि सुरक्षाको प्रबन्धपनि राम्रोसँग मिलाइएको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत् दोस्रो चरणमा असार १४ गते मतदान हुने १, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको सबै प्रबन्ध मिलाएको जनाएको हो ।
ती प्रदेशका असार १४ मै निर्वाचन गराउन सबै तयारी भएकाले विश्वस्त रहन आयोगले भनेको छ ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोगले असार ४ गते आइतबार हुने उम्मेदवार मनोनयनपत्र दर्ता उत्साहजनकरुपमा हुने विश्वास व्यक्त गरेको छ । मनोनयन दर्ताको समय आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
मनोनयन दर्ताको लागि सबै तयारी पूरा भइसकेको आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले बताए ।
दोस्रो चरणको निर्वाचनमा ३३४ स्थानीय तहको १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले भाग लिने आयोगले जानकारी दिएको छ । यी स्थानबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् ।
निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोगले अनुगमन परिचालन समिति र निर्वाचन विवाद निरुपण समितिमार्फत् काम गर्नेसमेत जनाएको छ ।
संवेदनशील मतदानस्थलमा आयोग आफैंले प्रत्यक्षरुपमा अनुगमन गर्ने प्रमुख आयुक्त यादवले बताए ।
निर्वाचनकाक्रममा मतदाता, निर्वाचन अधिकारी, मतदान सामग्री र मतदानस्थलको सुरक्षा प्रबन्धमा सरकारले आवश्यक तयारी गरेकाले विश्वस्त भएर निर्वाचन कार्यक्रममा सहभागी हुन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोगले असार १४ गते १, ५ र ७ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनको लागि अन्तिम गृहकार्य गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्