११ महिनासम्म जम्मा ४१ प्रतिशतमात्रै पुँजीगत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले चालु वर्षको अन्त्यसम्म ८४ प्रतिशत पुँजीगत खर्च हुने संशोधित अनुमानसमेत ‘फेल’ खाने भएको छ । यद्यपि, असार मसान्तसम्ममा यो बढेर ७५ प्रतिशत पुग्ने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामशरण पुडासैनीले बिहीबार हामीसित बताए ।
जेठ १५ गते नै बजेट सार्वजनिक भएको, साउन १ देखि नै कार्यक्रम स्वीकृत एवं अख्तियारी गएको भएपनि पुँजीगत खर्च धेरै गर्नुपर्ने मन्त्रालय जिम्मेवार नहुँदा खर्च हुन नसकेको अर्थ मन्त्रालयको भनाइ छ ।
चालु वर्ष ठूला आयोजनाको भौतिक प्रगति राम्रो हुने अपेक्षा गरेको सरकारले त्यसअनुरुप काम नहुँदा पुँजीगत खर्च बढ्न नसकेको पुडासैनीको भनाइ छ ।
असारमा बजेट सिध्याउने परम्परा यस वर्ष पनि हुनसक्ने भन्दै यसलाई कडाइ गर्न भनिएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस वर्षका लागि तीन खर्ब १२ अर्ब पुँजीगत खर्चको लक्ष्य राखिएको छ । ११ महिना सकिसक्दासमेत एक खर्ब २४ अर्ब रुपैयाँमात्र खर्च भएको अर्थले जनाएको छ ।
विगतका वर्षमाजस्तो बन्द, हड्ताल यस वर्ष खासै भएको थिएन । यस वर्ष निर्माण सामाग्रीको अभाव पनि थिएन । तर, पुँजीगत खर्च बढ्न सकेन । यसको प्रमुख कारक ठूला विकासे मन्त्रालय रहेको अर्थ मन्त्रालयको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्