
दोस्रो चरणको स्थानीय तह निर्वाचनको माहोल तातिएसँगै धनकुटाका मतदातामासमेत उत्साह छाएको छ ।
लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसकी कर्मचारीको भरमा स्थानीय निकायको काम हुँदा नागरिकहरुले धेरै सास्ती खेप्नुपरेकाले अब यस सास्तीबाट मुक्ति पाउने आशामा धनकुटेली मतादाता उत्साहित बनेका हुन् ।
दोस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत् धनकुटाका सात स्थानीय तहमा १ हजार २ सय ६ जनाको उम्मेदवारी दर्ता भएसँगै चुनाव नहुने आशंका पनि मेटिएर गएको छ ।
धनकुटाका सातै स्थानीय तहमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएको छ । सात स्थानीय तहका ६० वडामा आवश्यक कुल ३१४ प्रतिनिधिका लागि १२ सय ६ जनाले मनोनयन दर्ता गराएका हुन् ।
प्रमुखमा महिला चारसहित ४४, उपप्रमुखमा महिला ३० सहित ४२, वडाध्यक्षमा ७ महिलासहित २५० तथा खुला, महिला र दलित सदस्यको लागि ८७० जनाको मनोनयन दर्ता भएको छ । जसले निर्वाचनको उत्साहलाई प्रतिनिधित्व गर्ने कार्यलयका प्रमुख प्रदीपकुमार शाह बताउँछन् ।
लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचन धाँधलीरहित हुनुपर्ने धनकुटावासीको माग छ ।
सबै उम्मेदवारले आफ्नो एजेन्डा जनतासामु लिएर गए जनताले सक्षम र योग्य प्रतिनिधि छान्न पाउने उनीहरुको बुझाइ छ । तबमात्र जनप्रतिनिधिले राम्रो काम गर्ने र स्थानीय तहदेखि देशसम्म परिवर्तन देख्न पाइने स्थानीय बताउँछन् ।
धनकुटामा ११७ मतदानस्थल र १४३ मतदान केन्द्र निर्धारण गरिएको छ । धनकुटामा कुल ९५ हजार ३६७ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्