८ असार २०८२, आइतबार | Sun Jun 22 2025


पाल्पाको चुनावी प्रचारप्रसार उत्कर्षमा, ‘विकासे एजेन्डा’ प्राथमिकतामा


0
Shares

-सिता पाण्डे/ईमेज

केही दिनअघिसम्म सुनसान जस्तै रहेको पाल्पा अहिले चुनावमय भएको हो ।

वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति एक महिना पछि सरेपछि केही समय सुनसान बनेको चुनावी चहलपहल पाल्पामा अहिले पुनः बढेको छ ।

असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ता चुनावी माहोल बनाउनमा व्यस्त छन् ।

जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् ।

जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा चुनावी सरगर्मीले ढपक्कै ढाकेको छ ।

गाउँ गाउँमा दिनहुँ विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्ता गाउँ पस्दा गाउँ नै अहिले चुनावमय बनेको छ ।

उनीहरु आआफ्ना पार्टीका एजेन्डा, कार्ययोजना बोकेर मतादाता समक्ष भोट माग्न थालेका छन् ।

स्थानीय तहको निर्वाचनपछि जनताका समस्या, गाउँका विकास निर्माण, सडक, खानेपानीलगायतका समस्याको समाधान हुने आशामा यहाँका मतदाताले पनि यस पटकको निर्वाचनलाई विशेष महत्वका साथ लिन थालेका छन्

निर्वाचनका लागि भोट माग्न गाउँ पुगेका उम्मेदवार, नेता कार्यकर्तासमक्ष मतदाताले भने गाउँका समस्या, सडक, खानेपानी, बिजुलीको समस्या समाधान हुने भएमा मात्र भोट दिने बताउंछन् ।

जिल्लामा मुख्यरुपमा क्रियाशील नेपाली काँग्रेस र एमालेबीच यस पटकको चुनावमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

चुनावी मैदानमा उत्रिएका विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्तालाई चुनावको प्रचारप्रसार गर्न भ्याइनभ्याइ छ ।