Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


पोखरामा अब विज्ञको सुझावको आधारमामात्रै गगनचुम्बी भवन बनाउन दिइने


0
Shares

विभिन्न स्थानमा बन्दै गरेका गगनचुम्बी भवनका कारण पोखराका प्रत्येक घरबाट देखिने हिमशृंखला छेकिने चिन्ता बढेसँगै महानगरपालिकाले अध्ययनका लागि विज्ञ टोली बनाउने जनाएको छ ।

गन्डकी जग्गा तथा आवास विकास व्यवसायी संघको शनिबार पोखरामा भएको १३औं वार्षिक साधारणसभामा भवनसम्बन्धी नयाँ मापदन्ड तयार गर्ने पक्षमा रहेको पोखरा–लेखनाथ महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले जनाएका हुन् ।

महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरको भूगोलले माग गरे ‘हाई राइजिङ बिल्डिङ’ बनाउन दिने पक्षमा आफूहरु रहेको बताए ।

तर, अहिलेको परिवर्तित अवस्थामा प्राविधिक दृष्टिले उपयुक्त देखिए विज्ञको सुझावका आधारमामात्रै अग्ला भवन बनाउन स्विकृति दिने उनले बताए ।

नेपाल जग्गा तथा आवास विकास व्यवसायी संघका अध्यक्ष इच्छाराज तामाङले बस्ती विकासमा भूमिसुधार ऐन २०२१ बाधक रहेको बताए । उनले जग्गा भाडामा लगाएर व्यवस्थित आवास क्षेत्र निर्माण गर्नुपर्ने बताए ।

यसैबीच, गन्डकी जग्गा तथा आवास विकास व्यवसायी संघको अध्यक्षमा अरुणस्तोम त्रिपाठी चयन भएका छन् ।