काठमाडौं, माघ २० । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली क्रिकेटमा नयाँ इतिहास रचेर नेपालीलाई खुशी दिएकामा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विशेष धन्यवादसहित बधाई दिएका छन् ।
उपराष्ट्रपतिले आज एक शुभकामना सन्देश दिँदै नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का तथा टिमका सदस्यप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका हुन् ।
उनले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टि–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेर इतिहास बनाएकामा खुशी व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले प्रतियोगिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा नै कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने रोहितकुमार पौडेल र टि– ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोरालगायत खेलाडीलाई बधाई तथा धन्यवादसमेत दिएका छन् ।
उनले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको उल्लेख गर्दै नेपालले छिट्टै एकदिवसीय र टि–ट्वेन्टी विश्वकप खेल्ने विश्वास व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले क्रिकेटलगायत खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।
क्रिकेटमा प्राप्त उपलब्धि र यसबाट प्राप्त खुशीलाई नेपाली क्रिकेट र समग्र खेलकूदको विकासमा रुपान्तरण गर्न सबैलाई अपिल गरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पनि टि–ट्वेन्टी सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
अध्यक्ष दाहालले नेपाली टोलीले भर्खरै युएइमा सम्पन्न टि–ट्वेन्टी सिरिजको अन्तिम खेलमा युएइलाई हराउँदै ऐतिहासिक जित हासिल गरेलगत्तै बधाई दिएका हुन् ।
दाहालले खेलाडीलाई बधाई ज्ञापन गर्दे विश्वस्तरीय प्रतिष्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमङ्ग छाएको उल्लेख गरेका छन् ।
अध्यक्ष दाहालले आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरेका छन् ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीटरमार्फत नेपाली क्रिकेट टिमलाई ऐतिहासिक सफलताप्रति बधाई दिएका छन् ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि ट्वीट गर्दै नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘नेपाल र यूएईबीच भएको तेस्रो टि–२० खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टि– २० सिरिज जितेको छ । यो नेपाली क्रिकेटको लागि अर्को ठूलो सफलता हो । जितको लागि नेपाली क्रिकेट टिमका सम्पुर्ण सदस्यलाई बधाई ।’
कांग्रेसका युवा नेता धनराज गुरुङले ट्वीटरमा लेखेका छन्, ‘युएईसँगको टि–ट्वेन्टी क्रिकेट शृंखलामा नेपालले युएईलाई २–१ ले पराजित गर्दै अर्को ईतिहास रच्यो । सबैलाई बधाई । नेपाली क्रिकेट टिमले हासिल गरिरहेको सफलताले गौरवान्वित बनाएको छ तर नेपाल सरकारले एउटा पनि क्रिकेट स्टेडियम बनाउन नसकेको देख्दा लज्जावोध भएको छ ।’
युएईविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २–१ ले जित्दै इतिहास रचेको नेपाली क्रिकेट टिमले टि–ट्वेन्टी शृंखला पनि २–१ ले नै जितेको हो । नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय र टि–ट्वेन्टी शृंखला पहिलो पटक जितेको हो ।








प्रतिक्रिया दिनुहोस्