
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अत्याधिक मतपत्र बदर भएपछि दोस्रो चरणको चुनावका लागि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन निर्वाचन आयोगले निर्देशन दिएको थियो ।
तरपनि कतिपय ठाउँमा मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्न नसकिएको पाइएको छ ।
बैतडीका चार नगरपालिका र ६ गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिएको भनिएपनि आफ्नो घरदैलोमा सो कार्यक्रमका लागि स्वयंसेवक नपुगेका स्थानीयवासीले गुनासो गरेका छन् ।
चुनावी रौनक छाएपनि मतदान गर्नेबारे अहिलेसम्म कसैले नसिकाएको दोगडाकेदार गाउँपालिका–५ न्वालीका दुर्गा भुलले बताइन् ।
‘चुनावमा मतपत्र ठूलो हुन्छ भन्ने सुनेकी छु, मतपत्र नदेखेकाले मत बदर हुने हो कि भन्ने चिन्ता छ’–उनले भनिन् ।
यहाँका मतदाताले मतदान कसरी गर्ने भन्ने विषयमा अनभिज्ञ रहेको बताएका छन् ।
यस्तै, दोगडाकेदार गाउँपालिका–६ पञ्ज्यूनयाँका जैता कार्की आफ्नो गाउँमा मतदान गर्ने तरिकाबारेमा कसैलेपनि नसिकाएको बताउँछिन् । एउटै मतपत्रमा सातजना उम्मेदवारलाई भोट दिनेबारे उनी निकै अन्योलमा छिन् ।
जिल्लामा १७४ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको भएपनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको विभिन्न ठाउँका मतदाताले गुनासो गरेका छन् ।
तर, जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँल जिल्लाका सबै स्थानीय तहमा मतदाता शिक्षा स्वयंसेवक पठाएको र मतदान गर्ने तरिकाबारे सिकाएकोे बताउँछन् ।
‘मतदाता शिक्षा नपुगेका मतदाताका लागि आइतबारदेखि मंगलबारसम्म मतदाता परिचयपत्र वितरण भइरहेको सम्बन्धित मतदान केन्द्रमा पनि मतदान गर्नेबारे सिकाउने काम भइरहेको छ’–उनले भने । रासस
प्रतिक्रिया दिनुहोस्