८ असार २०८२, आइतबार | Mon Jun 23 2025


निर्वाचनको सबै तयारी पुरा, मतदान व्यवस्थापनको कार्य अन्तिम चरणमा


0
Shares

निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ वटै स्थानीय तहमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मतदाता परिचयपत्र वितरण र मतदानस्थल व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।

आयोगले वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयस्तरमै आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएको छ ।

यसैबीच, मौसमविद्हरुले भोलि हुने निर्वाचनमा मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाव दिएका छन् । मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको भन्दै उनीहरुले मतदातालाई समयमै मतदान गर्न सुझाव दिएका हुन् ।

भोलि मध्यान्हपछि प्रदेश नम्बर १, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसमी पूर्वानुमान गर्ने महाशाखाले दोस्रो चरणको निर्वाचनका दिन पानी पर्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार बिहान ७ बजेको समयमा प्रदेश १ का पूर्वी जिल्लामा सामान्य वर्षा हुनेछ ।