९ असार २०८२, सोमबार | Mon Jun 23 2025


१०० वर्ष पूरा गरेका धेरैजनाबाट मतदान, तीनजनाको मृत्यु


0
Shares

निर्वाचनमा ११४ वर्षीया वृद्धालेसमेत मतदान गरेका छन् । केहीको मतदान गर्न जाँदैगर्दा दुःखद् मृत्यु भएको छ ।

वृद्धवृद्धाले पनि घामपानीको प्रवाह नगरी उत्साहपूर्ण ढंगले मतदान गरेका छन् ।

बुधबार भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कन्चनपुरको बेदकोट नगरपालिकामा ११४ वर्षीया वृद्धा शारदादेवी धामीले मतदान गरेकी छन् ।

वेदकोट नगरपालिका–२ का ११४ वर्षीया धामीले बैजनाथ मावि जडेपानीको ‘ख’ केन्द्रमा मतदान गरेकी हुन् ।

यस्तै, बैतडी जिल्लामा ११३ वर्षीय वृद्धले मतदान गरेका छन् । बैतडी जिल्लाको सुरनया गाउँपालिकाको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय पशुपति साउदले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगर निवासी १०८ वर्षीया ओबिकुमारी पन्थीले मतदान गरेकी छन् । उनले बिहान ७ बजेतिर जिल्ला वन कार्यालय बाँके ‘क’ केन्द्रबाट मतदान गरेकी हुन् ।

१०८ वर्षीया वृद्धा पन्थीले नातिनी साइनो पर्ने व्यक्तिको साहाराबाट मतदान गरेकी हुन् ।

यस्तै, दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी जेष्ठ नागरिक १०५ वर्षीया कलशी भट्टले भूमिराज निमावि तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

उदयपुरको चौदन्डीगढी नगरपालिका–६ स्थित ज्योति नमुना मावी केन्द्रबाट १०५ वर्षीय हर्कबहादुर कार्कीले मतदान गरेका छन् ।

यस्तै, बैतडी जिल्लाको राष्ट्रिय मावि फातीगढा मतदान केन्द्रबाट १०३ वर्षका हरिजित साउदले मतदान गरेका छन् ।

गुल्मीमा पनि १०१ वर्षीया तुलसादेवी अर्यालले मतदान गरेकी छन् । गुल्मीको इस्मा गाउँपालिका–५ रामराज्य मावी केन्द्रमा उनले मत खसालेकी हुन् ।

यस्तै, डोटीमा १०० वर्षका वृद्ध हिरासिंह रावलले मतदान गरेका छन् । बिहान ७ बजे जोरायल गाउँपालिकाको महेन्द्र आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

डोटीकै दिपायल–सिलगढी नगरपालिकाकी ९२ वर्षकी पारुली देवी कठायतले सुजंग माध्यमिक विद्यालय दिपायल राजपुर मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी छन् ।

संखुवासभाको खाँदबारी नगरपालिकाको टुँडिखेल मतदान केन्द्रबाट ९७ वर्षीय बिर्खबहादुर गुरुङले मतदान गरेका छन् ।

मतदान गर्न जानेक्रममा केही दुःखद् घटना पनि भएका छन् । पाल्पामा मतदानका लागि जाँदै गर्दा एक वृद्धाको मृत्यु भएको छ ।

पाल्पाको रामआधारभूत विद्यालय बेगनाशकाली केन्द्रमा मतदानका लागि जानेक्रममा ६२ वर्षीया कृष्णकुमारी कुमालको मृत्यु भएको हो ।

यस्तै, पाल्पाकै अरनिको आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको छ ।

उता, झापाको दमक नगरपालिका–१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको मतदानको लागि लाइनमै बसेकाबेला मृत्यु भएको छ । उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्