कतै रुझ्दै–भिज्दै रोपाइँ चलिरहेको छ त कतै कुलो काट्न व्यस्त छन्, किसानहरु ।
पोखराका पर्यटन व्यवसायीहरु भने यही मौकालाई सदुपयोग गर्दै पर्यटक भित्र्याउन असारे महोत्सवमा जुटे ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने मुख्य नाराका साथ पोखरा पर्यटन परिषदले पोखरा–१६ ठूलीबेसी फाटमा १४औं संस्करणको महोत्सवको चाँजापाँजो मिलाएको हो ।
आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी हरेक वर्ष असार १५ लाई पोखरामा असारे रोपाइँ महोत्सवकारुपमा मनाउने परम्परा नै बसेको छ ।
रोपाइँ महोत्सवमा विदेशी पर्यटकको सहभागितासहित पोखरेलीहरुकोे उल्लेख्य सहभागिता रहेको थियो ।
असार १५ मा हिलोमै टेक्नुपर्छ भन्ने मान्यताले महोत्सवमा अधिकांश सहभागीहरु हिलाम्य भएको देखेपछि विदेशी पर्यटकहरुसमेत मन थाम्न नसकी हिलोमै लुटुपुटु भएर रमाएका देखिन्थे ।
हली, बाउसे, खेताला र अन्य सहभागीहरु एक आपसमा हिलो छ्याप्दै रमाइलो गरिरहेका दृष्य निकै रोमान्चक देखिन्थ्यो ।
हिलाम्य भएका पर्यटकहरुमा को स्वदेशी र को विदेशी भन्ने चिन्नै मुस्किल परेको थियो ।
महोत्सवले पोखराको परिचय राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पु्गेको बताउँछन्, परिषदका अध्यक्ष केदार शर्मा ।
रोपाइँ महोत्सवको अवसरमा पन्चेबाजा, असारेगीत, गोरु दौडाउने, हिलो सम्याउने, हिलोमा पर्यटकदौड, रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको थियो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।









प्रतिक्रिया दिनुहोस्