Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपालको पहिलो खेल म्यानमारसँग


0
Shares

काठमाडौं, माघ १९ । भारतको भुवनेश्वरमा यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ ।

भारतीय फुटबल महासंघले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल यही माघ २६ गते म्यानमारसँग खेल्नेछ ।

आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

अन्तिम समयमा श्रीलंकाले प्रतियोगिता नखेल्ने जनाएपछि इरानलाई प्रतियोगितामा सहभागी गराइएको महासंघले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित इरान, म्यानमार र आयोजक भारत सहभागी छन् ।

नेपालले दोस्रो खेलमा यही माघ २८ गते भारतसँग र तेस्रो खेलमा नेपालले आगामी फागुन १ गते इरानसँग खेल्नेछ ।

‘राउन्ड रोबिन’ लिगका आधारमा सन्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोली अहिले झापामा बन्द प्रशिक्षणमा रहेको छ ।

नेपाली टोलीमा गोलकिपर एन्जिला तेम्बाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ, डिफेन्डर हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बू, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मञ्जली योन्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी तथा अनिता केसी छन् ।

पहिलोपटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला टोली पूर्वराष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा छ ।

झापाबाट नेपाली टोली मंगलबार भारत जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । रासस