नवनिर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण गरेसँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको कार्यकारी अधिकृत श्याम न्यौपानेले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष राईले प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि सम्भाव्यता अध्ययन गर्ने, भ्रष्टाचार र सेवामा ढिलासुस्ती नियन्त्रण गर्न सिसिटिभी जडान गर्दै छिटोछरितो ढङ्गबाट सेवा प्रदानमा जोड दिने र डिजिटल हाजिरीको व्यवस्था गर्ने पनि निर्णय गरेका छन् ।
गाउँपालिका उपप्रमुख सबिता राईले भने बिहीबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
बुधबार गाउँपालिकाको कार्यालयमा उनी उपस्थित नभएपछि बिहीबारका लागि पदभार ग्रहणको कार्यक्रम राखिएको पनि कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।
गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका असिम राई र उपप्रमुखमा नेपाली कांग्रेसकी सबिता राई निर्वाचित भएका हुन् । जिल्लाकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस गाउँपालिकाका ४ वटा वडा माओवादी केन्द्र, ३ वटा वडा नेपाली कांग्रेस र एक वडा एमालेले जितेको छ । (रासस)










प्रतिक्रिया दिनुहोस्