१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो दल


0
Shares

दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय २४ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म घोषित परिणाममा नेकपा एमालेले १ सय ४६ स्थानीय तहमा जितेको छ ।

नेपाली कांग्रेसले १ सय १८ स्थानीय तहमा जीत हात पार्दा नेकपा माओवादी केन्द्र ३८ स्थानीय तहमा विजयी भएको छ । यस्तै संघीय समाजवादी फोरमले ७ सिट जितेको छ भने लोकतान्त्रिक फोरमले पनि ६ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीन जना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

पछिल्लो मत परिणामअनुसार सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुखमा एमालेका द्वारिकालाल चौधरी र उपप्रमुखमा पनि एमालेकै लक्ष्मी चौधरी विजयी भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रमेशकुमार भुजेल र उपाध्यक्षमा एमालेकी मीराकुमारी भूर्तेल विजयी भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एमालेका बलदेव चौधरी र उपप्रमुखमा कांग्रेसकी देवीकुमारी चौधरी निर्वाचित भएका छन् । यस्तै उदयपुरकै बेलका नगरपालिका प्रमुखमा एमालेका दुर्गाबहादुर थापा र उपप्रमुखमा पनि एमालेकै राजकुमारी चौधरी निर्वाचित भएका छन् ।

झापाको शिवशताक्षी नगरपालिकाको प्रमुखमा एमालेका चन्द्रकुमार शेर्मा र उपप्रमुखमा एमालेकै भोजकुमारी नेपाल विजयी भएका छन् । मोरङको रङ्गेली नगरपालिका प्रमुखमा माओवादी केन्द्रका दिलिप गच्छदार विजयी भएका छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी र उपमेयरमा संघीय समाजवादी फोरमकी जानकीदेवी श्रीवास्तव विजयी भएका छन् ।

झापाको बिर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेका ध्रुव शिवाकोटी विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै पवित्रा महतरा विजयी भइन् ।

दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका घनश्याम पाण्डे र उपमेयरमा पनि एमालेकै माया आचार्य विजयी भएका छन् ।