२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


‘सुनौलो–सुन्तला कोष’ भएको केरा फलाउन वैज्ञानिक सफल, लाखौं मानिसको जीवन बच्ने


0
Shares

अष्ट्रेलियाको क्वीन्सल्यान्ड प्रविधि विश्वविद्यालयका वैज्ञानिकहरुले ‘महत्वपूर्ण मानवीय परियोजना’अन्तर्गत् उक्त ‘प्राण जोगाउने’ फल ‘सुनौलो–सुन्तला केरा’को विकास गर्न सफल भएका हुन् ।

वैज्ञानिकहरुले उक्त फल युगान्डामा पाइने केरामा हुने पोषणतत्वलाई सुधारगरी जैविक प्रविधिमार्फत् ‘गोल्डेन–ओरेन्ज फ्लेस’ केराको विकास गर्न सफल भएको डेलिमेल अनलाइनले उल्लेख गरेको छ ।

विश्वविद्यालयका खोजकर्ता प्रमुख प्रा.जेम्स डलेले उक्त केरा युगान्डाको प्रमुख खाद्यान्न भएको बताए ।

प्रा.डलेकाअनुसार ‘महत्वपूर्ण मानवीय परियोजना’अन्तर्गत् यस कार्यक्रम सन् २००५देखि सुरु गरिएको थियो ।

उनले भने–‘हाम्रो लक्ष्य सन् २०२० सम्ममा युगान्डाका सबै कृषकले प्रो.भिटामिन–ए रहेको सुनौलो–सुन्तला केरा उत्पादन गर्ने रहेको छ ।’

अहिले युगान्डालगायत पश्चिम–अफ्रिकन देशहरुमा केरालाई उसिनेर तथा अरु तरिकाले खाने चलन छ । तर, स्थानीय केराहरुमा प्रशस्तमात्रामा पोषण भिटामिन–ए र आइरन पाइँदैन । त्यसैले युगान्डाका हजारौं बालबालिकाकामा कुपोषणको समस्या देखिएको छ ।

अब यस केराले अफ्रिकन देशलगायत विश्वका अरु देशका लाखौं मानिसहरुको जीवनरक्षा गर्न सहयोग पुग्ने बताइएको छ ।

प्रा.डलेकाअनुसार भिटामिन–एको कमीले ती देशहरुमा वार्षिक ६ देखि ७ लाख बालबालिकाको आँखामा समस्या आएको र त्यसमध्ये अधिकांशमा अन्धोपनको समस्या रहेकाले अब यस समस्या समाधानको दीर्घकालीन उपायको लागि वैज्ञानिकहरुले उक्त केराको विकास गरिएको हो ।

प्रा.डलेले उक्त केराबाट प्राप्त हुने पोषणले शशरुरको प्रतिरक्षा प्रणाली बलियो हुने र बालबालिकाको मस्तिष्क विकासमा सकरात्मक प्रभाव पार्ने बताए ।

अष्ट्रेलियाको क्वीन्सल्यान्डको इननिसफेल बगैंचामा फलाइएको उक्त केरा अमेरिकामा पहिलोपटक मानव परीक्षण गरिएको जनाइएको छ ।

६ हप्ता लगाएर गरिएको उक्त परीक्षणको अन्तिम नतिजा यस वर्षको अन्त्यमा सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

यस कार्यक्रमलाई विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सेभ द लाइफ कार्यक्रमअन्तर्गत् १० मिलियन डलर सहयोग गर्ने भएको छ ।