Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


आफ्ना छोराछोरीलाई आफैं ट्यूसन पढाउँछन् जितबहादुर (भिडियो)


0
Shares

छोराछोरीलाई पढाउन र गृहकार्य गर्न घरमानै कालोपाटीमा चकले लेखेर एक घण्टासम्म गृहकार्य गराउँछन् र जानेजति पढाउँछन् पनि ।

छोराछोरी पनि ध्यान दिएर पढ्छन् । गाउँमा ट्यूसन कक्षा नहुँनु र सामुदायिक विद्यालयको पढाईको गुणस्तर कम हुँदा छोरा छोरीको पढाईमा ६० काटेका खातीले पनि ध्यान दिनुपर्ने भएको छ ।

खातीको घरमा साँझ पुग्ने हो भने उनी यसरी नै आफ्ना छोरा छोरीलाई राखेर कालोपाटीमा पढाईरहेका भेटिन्छन् ।

खातीले ५ कक्षासम्म पढेका छन् । उमेरले ६० कटेका खाती १० वर्षको हुँदा मात्रै विद्यालय भर्ना भए ।

घरबाट एक घण्टा पैदलको सादेवा गाविसस्थित सरस्वती माध्यमिक बिद्यालयमा पढेका उनी ५ कक्षाभन्दा माथि पढ्न लाजले सकेनन् ।

१६ वर्षे जवानले प्राथमिक पढ्ने भनेर गाउँघरमा जिस्क्याएपछि स्कुल जानै छोडिदिए ।

सानामा भने दलित भएका कारण स्कुल जान पाएनन् । निकै कठिनले साँवा अक्षर चिनेका जितबहादुर अहिले आफूले जाने जति आफ्ना छोराछोरीलाई साँझ बिहान घरमै सिकाउँछन् ।

सबै छोराछोरीलाई एसएलसीसम्म पढाउने उद्देश्यसाथ उनी प्रत्येक दिन साँझ एक घण्टा आफैंले कक्षा लिन्छन् । पढाउनका लागि कालोपाटी घरमै बनाएका छन् । बजारबाट चक किनेर लान्छन् ।

विकट गाउँ भएकाले राम्रा शिक्षक दुर्गम भन्दै नजाने हुँदा गाउँका सामुदायिक विद्यालयको पढाई पनि गुणस्तरीय छैन ।

विद्यालयको पढाईको मात्र भर पर्दा बालबालिकाको भविष्य विग्रिएला भन्ने जितबहादुरको चिन्ता छ । १० सन्तानका धनी उनी ७ छोरा र ३ छोरीका बाबु हुन् ।

जितबहादुर त जसो तसो जानेको पढाउँछन् । तर यस क्षेत्रका अधिकाँस बालबालिका गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।

अहिले स्थानीय तहको सँरचना चुनाबबाट आएका जन प्रतिनिधिले विकास निर्माणलाई बढी प्राथमिकता दिइरहेका छन् ।

तर यस्ता क्षेत्रमा विकास सँगै शिक्षाको गुणस्तरियतालाई पनि पहिलो प्राथमिकतामा राखे जितबहादुर जस्तै अरुले बालबालिकाको चिन्ता गर्नुपर्ने थिएन ।