काठमाडौं, माघ १७ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीचको ट्वेन्टी–२० क्रिकेट शृंखला बिहीबारदेखि सुरु भएको छ ।
तीन खेलको शृंखलाको पहिलो खेल अहिले दुबाईस्थित आइसीसी एकेडेमीको मैदानमा भइरहेको छ ।
खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली युएईले पहिले ब्याटिङ गरिरहेको छ ।
यो खेलमार्फत् नेपालका तीनजना खेलाडीहरुले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका छन् ।
नेपालका सन्दीप जोरा, अभिनाश बोहरा र रोहितकुमार पौडेलले ‘डेब्यु’ गरेका हुन् । यसअघि, राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेपनि ट्वेन्टी–२० मा भने उनीहरुको यो पहिलो खेल हो ।
यसअघि, तीन खेलको एकदिवसीय शृंखला जितेर हौसिएको नेपाल टी–२० शृंखला पनि जित्ने लक्ष्यमा रहेको छ ।
यो शृंखला जिते नेपालले पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय शृंखला आफ्नो नाममा पार्नेछ ।
ट्वेन्टी–२० क्रिकेटको विश्वकप खेलिसकेको नेपालले अहिलेसम्म शृंखला जित्न भने सकेको छैन ।
यसअघि, हङकङ र नेदरल्यान्ड्सविरुद्ध दुई शृंखला खेलेको नेपाल दुवैपटक पराजित भएको थियो ।








प्रतिक्रिया दिनुहोस्