तत्कालका लागि फाइदा पुगेपनि नियमित रुपमा इँट्टा उत्पादन हुँदा तरकारी तथा अन्य खाद्यान्नबालीका उत्पादनमा समेत कमी आएको सो क्षेत्रका किसानले बताएका छन् ।
तरकारी पकेट क्षेत्रमा रहेको इँट्टा उद्योगका कारण वातावरणमा असर पार्नुका साथै बालीनाली समेत प्रभावित भएको उनीहरुको गुनासो छ ।
धुनीबेँसी नगरपालिकामा १८७ दशमलब पाँच हेक्टर, थाक्रे गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफल जमिन इँट्टा उत्पादनका लागि प्रयोग भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयका प्रमुख केशव देवकोटाका अनुसार धुनीबेँसी नगरपाकिामा ९३० हेक्टर र थाक्रे गाउँपालिकामा ६८५ हेक्टरमा वार्षिक १८ हजार ३५५ मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको थियो तर इँट्टाका कारण बिस्तारै उर्वराशक्तिमा ह्रास हुँदै जान थालेको छ ।
इँट्टा उद्योगले पारेको असरबारे कृषिमा आश्रित धुनीबेँसी र थाक्रेका पाँच हजार कृषकको अवस्था बुझ्न कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुखले स्थलगत भ्रमण गरी तरकारी पकेट क्षेत्रका कृषकसंग छलफल गरेका छन् ।
सरदर प्रतिमेट्रिक टन रु ३५ हजार मात्र आम्दानी हुने हिसाबले रु ९ करोड ९० लाख ३२ हजार ८५० प्रत्यक्ष नोक्सान हुने देखिन्छ । जग्गाधनीले जग्गा भाडामा लिइ माटो बेचर सरदर प्रति हेक्टर रु एक लाख ३० हजार वार्षिक भाडा दरले रु २२ करोड ९० लाख ५५ हजार रकम लिँदै आएका छन् यसरी इँट्टा भट्टालाई जग्गा भाडामा दिँदा पनि कृषकले करिव रु सात करोड वार्षिक रुपमा नोक्सान व्योहोर्दै आएको अनुमान छ ।
किसानले जग्गा भाडामा दिनुका साथै उत्पादनशील माटो समेत बेचेका छन् । माटो बेचेका मात्र होइनन उर्भरभूमिलाई मरुभूमि समेत बनाउँदैछन् । इँट्टा उद्योगबाट निस्किएको धुवाँ, धुलो र ध्वनी प्रदूषणले पर्यावरणमा परेको क्षति रुपैयाँमा तुलना गर्न सकिदैँन । इँट्टा पोल्दा निस्किएको धुवाँ र धुलो घाँसमा टाँसिएको हुन्छ । गाईभैँसीलाई त्यही घाँस खुवाइन्छ । उडेर आएको धुवाँको मुस्लो तरकारीमा खस्छ पखालेर पनि जादैन । धोएर सुकाएको कपडा कालो हुन्छ । यो समस्याले कृषक मारमा परिरहेको प्रत्यक्ष देख्न सकिने भएकाले तरकारी पकेट क्षेत्रलाई तरकारी पकेट क्षेत्रकै रुपमा विकास गर्न खाद्य अधिकारका लागि क्रियाशील फियान नेपालका जिल्ला संयोजक राजेन्द्र बस्नेतले बताए ।
जग्गा भाडामा दिएर खान नपुग्ने तरकारीखेती गरेर घरखर्च चलाएको किसानको गुनासो छ । इँट्टा उद्योग सञ्चालनसँगै स्थानीयवासीलाई मानसिक तनाव बढाएको छ । जुन तनाव पनि रुपैयामा तुलना गर्न सकिदैन । जग्गा भाडामा दिएका शालिकराम कोइराला उद्योगले पु¥याएको नोक्सानी देखेर आफैलाई दिक्क लागेको गुनासो गरे । (रासस)









प्रतिक्रिया दिनुहोस्