Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मुग्लिन–नारायणगढ सडकः ज्यान नै बाजी राखेर हिँड्नुपर्ने अवस्था (भिडियो रिपोर्ट)


0
Shares

दुई वर्षदेखि विस्तारकोक्रममा रहेको यस सडकखन्डमा दैनिकजसो पहिरो खस्न थालेपछि यस सडकखन्ड भएर यात्रा गर्न असहज स्थिति बनेको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखन्ड विस्तारको काम ढिलाइ भइरहँदा यस सडकखन्ड भएर यात्रा गर्न कठिन बन्दै गइरहेको छ ।

सडक विस्तारको कार्य सुरु भएको दुई वर्ष बितिसक्दा पनि सडक विस्तारकार्य अझै टुंगिएको छैन ।

पछिल्लो समय लगातार खसिरहेको पहिरोले मानवीय क्षति हुन थालेपछि अहिले यस सडकखन्ड सर्वत्र चासोको विषय बनेको छ । यस सडकखन्डमा पछिल्लो केही महिनायता खसेको पहिरोका कारण पाँचजनाले ज्यान गुमाएपछि अहिले रातिको समयमा सडक बन्द गर्ने निर्णय गरिएको छ ।

यस सडकखन्डमा यात्रा गर्दा जोखिम कम गर्न विभिन्न कामहरु अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट बताउँछन् ।

विगतका वर्षहरुमा पहिरोले बाटो अवरुद्धमात्रै गर्ने गरेपनि पछिल्लो समय सर्वसाधारणको ज्यानै जाने अवस्था सिर्जना भएपछि अवस्था जटिल बनेको हो ।

यसै महिनाको पहिलो सातामा पहिरोले इलाका प्रहरी कार्यालय मुग्लिनको गाडी नै बगाउँदा तीनजना प्रहरीले जनाए गुमाए भने एकजना अझै बेपत्ता छन् ।

यस्तै, गत चैत अन्तिम साता पहिरोले ट्यांकर र मोटरसाइकल पुर्दा दुईजनाले ज्यान गुमाए ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखन्डमा ज्यान नै बाजी राखेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । सडक विस्तारको कामले तीव्रता नपाउँदा यात्रीहरुले झनै सास्ती भोग्नुपरेको छ ।

यस वर्षको मंसिर अन्तिम सातामा विस्तार कामलाई पूर्णता दिनुपर्ने समयावधि भएपनि त्यो सम्भावना देखिएको छैन ।

यस सडकखन्डमा पहिरो खस्दा सवारी–साधनको लाम लाग्ने गरेको छ । यससडक खन्ड भएर हजारौं सवारी–साधन चल्ने भएकाले धेरै यात्रीहरु समस्यामा पर्ने गरेका छन् ।

यस सडकखन्डको अवस्था बुझ्न यसै महिना व्यवस्थापिका–संसदको विकास समितिको टोली स्थलगत निरीक्षण गर्न पुगेको थियो । सो टोली पनि पहिरोको चपेटामा परेको थियो ।

यस सडकखन्ड भएर दिनहुँजसो यात्रा गर्ने सवारीचालकहरु झनै त्रासमा छन् । उनीहरु आफ्नो ज्यान नै बाजी राखेर यात्रा गर्नुपर्ने बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।