
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको हो ।
आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र आफूसाथ लैजानुपर्नेछ ।
हालको मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न तथा मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधि अर्थात् साउन १ देखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्थासमेत गरिएको आयोगले जनाएको छ ।
मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउन नपर्ने जनाउँदै आयोगले नाम दर्ता भइसकेपछि साउन १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दावी–विरोध गर्नसकिने व्यवस्था मिलाइएको जनाएको छ ।
आयोगले मतदाता नामावलीमा समयसापेक्ष सुधार गर्दै जानेक्रममा तस्वीरसहितको मतदाता नामावली तयार गर्दै आएको छ ।
पछिल्लोपटक आयोगले गत फागुन ९ गतेअगाडि १८ वर्ष उमेर पूरा भएका मतदाताको नाम अन्तिम मतदाता नामावलीमा कायम गरेको थियो ।
सोही मतदाता नामावलीका आधारमा आयोगले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गरेको हो ।
हाल एक करोड ४२ लाख ५४८ नेपाली नागरिकको नाम मतदाता नामावलीमा दर्ता गरिएको छ ।
यसअघि, जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट निरन्तर दर्ता, घुम्ती दर्ता, विशेष दर्तालगायत कार्यक्रमबाट मतदाता नामावली संकलन गरिँदै आएको थियो ।
स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै फागुन ९ गतेदेखि यो कार्य स्थगन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्