Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


क्रिकेट रंगशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन् ।

फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का निम्ति फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्तरीय रंगशाला नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुन नसेकेकाले यस्तो मैदानको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

‘अहिले हामीकहाँ भएका मूलपानी र त्रिवि क्रिकेट मैदान काम चलाउमात्रै छन् । त्यसैले यहाँ अन्तर्राष्ट्रियस्तरको रंगशाला आवश्यक छ । भएकाको पनि स्तरोन्नति आवश्यक छ’–उनले भने ।

खेल र राजनीतिको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले तत्कालीन अवस्थामा खेल जितेर (लिगलिगे दौड) राज हुने परम्पराको स्मरण गरे ।

नेपाल अब समृद्धितर्फ अघि बढिसकेको कुरा आफूले अन्तर्राष्ट्रिय समुदायलाईसमेत बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियान अब साकार हुँदै जाने बताए ।

उनले ठेकेदार भागेकाले मेलम्ची समयमै काठमाडौं ल्याउन नसकिएको बताउँदै ठेकेदार कम्पनीसँग केही दिनभित्रै वार्ता हुने र मेलम्चीको काम अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

सरकार वार्ता र संवादबाटै अगाडि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र कमजोर भयो भनेर हल्ला फिँजाउनु दुर्भाग्य भएको बताए ।

अबको १० वर्षभित्र नेपालको राजनीति सफा हुन्छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताए ।

‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाइँ हेर्नुहोला, अबको १० वर्षभित्र नेपालको राजनीति सफा हुन्छ । एउटा नयाँ अभियानमा जान्छ’–उनले भने ।

उनले खेलकै करण कयौं राष्ट्रलाई एकताबद्ध बनाएको बताउँदै मुलुकको अर्थतन्त्र माथि उकास्न र समृद्धि हासिल गर्न अब मुलुकमा खेलको विकास गर्न ढिला भइसकेको बताए ।

मुलुकको समृद्धिका लागि अब सबै जनताले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै अध्यक्ष दाहालले समृद्धिलाई साकार रुप दिन सबैले संकल्प गर्नुपर्ने बेला आएको बताए ।

‘रंगशाला निर्माणका लागि गर्नुपर्ने सहयोगमा कुनै कमी हुँदैन’

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले खेलकुदकै कारण नेपाल पछिल्लो समय संसारमा चिनिँदै गएको बताए ।

उनले खेलकुदको विकास र रंगशाला निर्माणका लागि पार्टीका तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने वचनबद्धतासमेत व्यक्त गरे ।

खेल क्षेत्रको विकासबिना मुलुकको समृद्धि हासिल हुन नसक्ने

युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्मा सुनारले ‘नेपाली खेलाडीले प्रतिकुलताका बाबजुद अन्तर्राष्ट्रिय सफलता हात पारिरहनु सराहनीय काम हो’–भने ।

उनले खेल क्षेत्रको विकासबिना मुलुकको समृद्धि हासिल हुन नसक्ने बताउँदै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर मुलुकको सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने कार्यविधि ल्याएको उनले बताए ।

‘पहिलो खेल भारत र पाकिस्तानबीच’

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले सरकारको एक महानगरमा एक सुविधासम्पन्न रंगशाला बनाउने कार्यक्रमअनुसार फाउन्डेसनलाई जग्गा प्राप्त गर्न चुनौती नहोस् भनेर जग्गा दिन तयार भएको बताइन् ।

उनले दुई वर्षभित्र रंगशाला तयार गरेर पहिलो खेल भारत र पाकिस्तानबीच गराउनेसमेत बताइन् । रासस