काठमाडौं, माघ १६ । चितवनको भरतपुर महानगरपालिकामा नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ ।
एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको घोषणा गरेको हो ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको २० विगाह ५ कठ्ठा जमिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न लागेको हो ।
दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको उक्त रंगशाला निर्माणका लागि तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
रंगशालाको अग्रभाग स्तुप शैलीको हुनेछ भने खेलमैदान वरिपरिको भाग कमलको फूलको आकारमा हुनेछ । क्रिकेट रंगशालामा करिब २५ हजार दर्शकमात्रै अट्नेछन् ।
कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष दाहाल र नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूहरुले रंगशाला निर्माणका लागि सक्दो सहयोग गर्ने बताए ।
भारत-पाकिस्तानबीच उद्घाटन खेल खेलाउने लक्ष्य
भारत र पाकिस्तानबीच उद्घाटन खेल खेलाउने लक्ष्य रहेको भरतपुर महानगरपालिकाकी मेयर दाहालले बताइन् ।
फाउन्डेशनका सल्लाहकार तथा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले धुर्मुस–सुन्तली फाउन्डेसनले इमानदारीपूर्वक काम गर्ने विश्वास जनाउँदै फाउन्डेसनका अध्यक्ष धुर्मुस र उपाध्यक्ष कुन्जना घिमिरे ‘सुन्तली’लाई शुभकामना दिँदै सलाम गरे ।
एस ट्राभल्स एक्लैले तीन करोड दिने घोषणा
स्वेच्छिक सहयोगबाटै रंगशाला निर्माणका लागि रकम जुट्ने विश्वास लिइएको छ ।
हस्ताक्षर कार्यक्रममै झन्डै पाँच करोड रुपैयाँको सहयोग प्रतिबद्धता आएको छ । एस ट्राभल्स एक्लैले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ ।








प्रतिक्रिया दिनुहोस्