जिल्ला सदरमुकाम पनि बल्ल तल्ल हिंडेर एक दिनमा मात्र पुगिन्थ्यो तर अहिले मध्य पहाडी लोकमार्ग गाउँकैबीचबाट बनेपछि उनीहरुको दैनिकी फेरिएको छ ।
ताप्लेजुङको कालिखोला, सादेवा, सुरुम्खिमसहित पाँचथरको फलैचा, च्याङ्थापुलगायत स्थानका स्थानीय विहान बस चढ्दा दिउँसो २÷३ बजे नै झापाको बिर्तामोड पुग्छन् ।
सदरमुकाम पनि चाहेको समयमा जान सक्छन् । यो सहजता ल्याईदिएको छ मध्य पहाडि लोकमार्गले ।
मध्य पहाडी लोकमार्ग आयोजनाले सडकको ट्रयाक खोलिदिए पछि पिँठ्युँमा भारी बोक्नुपर्र्ने अनि लामो समय लगाएर सदरमुकाम र जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
सडकले दुर्गम गाउँहरुलाई पनि सहजै जोडिदिएपछि गाउँमा उत्पादित साग सब्जिदेखि अलैचि र जडिबुटिले पनि राम्रो बजार पाएको स्थानीय बताउंछन् ।
खोलिएको ट्रयाकनै फराकिलो र सहज भएकाले ट्रक, ट्रयाक्टर, बसदेखि साना सवारी साधन गाउँ गाउँसम्म पुगेका छन् ।
मूल सडक बनेपछि अहिले हरेक गाउँ र वडासम्म पुग्न सहायक मार्ग समेत निर्माण भइसकेका छन् ।
अहिले सडक विकासपछि गाउँका कृषकहरु व्यवसायिक हुने क्रम समेत बढेको छ ।
गाउँका कृषकहरुले अलैँची, तरकारीबाली, बाख्रापालन, गाईपालनलगायत पेशामा व्यवसायिक बन्न थालेका छन् ।
पाँच वर्षअघि आर्थिक वर्ष ०६४÷६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्गको सम्पूर्ण ट्रयाक खोल्ने काम गरी सडकलाई चौडा बनाउने क्रम पनि जारी छ ।
करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ ।
पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमाना स्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।
मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।
त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।
यो मार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ ।
पूर्व–पश्चिम जोड्ने १७ सय ६५ मिलोमिटर लामो उक्त लोकमार्गको केही भागमा स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि भइरहेको छ ।
यस वर्ष पूर्वमा ३० र पश्चिममा ३० किलोमिटर कालोपत्रे हुँदैछ ।
यो लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्नेछ ।









प्रतिक्रिया दिनुहोस्