Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


नागार्जुन नगरपालिकाको बजेट ६४ करोड, प्राथमिकतामा के–के ?


0
Shares

नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि उक्त रकम बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

चालु खर्च रु २१ करोड ६९ लाख ९० हजार, पुँजीगत खर्च रु २३ करोड ५३ लाख, समपूरक कोष रु चार करोड ५० लाख र नपा तथा वडाका भवन निर्माणतर्फ रु १५ करोड बजेट रहेको छ ।

नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा राजनीतिक स्थिरता कायम हुँदै गएकाले अब विकास गर्नका लागि प्रत्येक स्थानीय तहले योजना बनाउनुपर्ने बताए ।

उनले भने–‘तपाईंहरु जनताको भोटबाट जितेका प्रतिनिधि हुनुहुन्छ, जनताको चाहना र भावनालाई प्राथमिकतामा राखेर काम गर्नुहोस् ।’

नेता सिंहले नगरपालिकाको विकासका लागि गुरुयोजना तयार गरेर अगाडि बढेमात्र विकास हुुने भन्दै नगरपालिका विकासकोे गुरुयोजना बनाउन आग्रह गरे ।

सांसद ध्यानगोविन्द रञ्जितले नगरपालिकाका लागि छुट्याएको बजेट सही ठाउँमा प्रयोग गर्नुपर्ने बताए । उनले साउन १ गतेदेखि नै बजेट लागू हुने भन्दै विकासको काममा ढिला नगर्न आग्रह गरे ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विपन्न परिवारका लागि व्यापार–व्यवसाय सन्चालनका लागि नगरपालिकाको बजेटले विशेष कार्यक्रम ल्याएको बताए ।

उपप्रमुख सुशीला अधिकारीले नगरपालिकालाई नमुना नगरपालिका निर्माण गर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत् गरेको बताइन् ।

नीति तथा कार्यक्रममा वातावरणमैत्री नगरपालिका निर्माण, फोहरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।

यस्तै, सुशासन कायम, स्वीट्जरल्यान्ड पार्क व्यवस्थापन, महिला विद्यालय, ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण, बढी कर तिर्ने करदातालाई प्रोत्साहन, होमस्टे सन्चालनलगायत कार्यलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । रासस