Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


भक्तपुरको बजेट एक अर्ब, सूर्यविनायकको ४८ करोड


0
Shares

शनिबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सुनिल प्रजापतिले पारित गरेको बजेट, नीति तथा कार्यक्रमबारे जानकारी दिए ।

बजेट आम्दानीतर्फ सरकारबाट सःशर्त अनुदान रु १९ करोड ७८ लाख ९५ हजार, निःशर्त अनुदान रु १७ करोड ८७ ९५ हजार, सामाजिक सुरक्षा भत्ता रु ११ करोड ८ लाख र अन्य निकायतर्फ रु ६० लाख गरी कुल रु ४९ करोड ३४ लाख ९० हजार रहने प्रजापतिले बताए ।

त्यस्तै, नगरका बासिन्दाबाट संकलन हुने विभिन्न कर तथा पर्यटन सेवा शुल्कसमेत गरी रु ४२ करोड २० लाख १० हजार आन्तरिक स्रोतबाट आम्दानी हुने लक्ष्य राखेको छ । नगरपालिकाको मौज्दात बाँकी रु १४ करोड रहने अनुमान गरिएको छ ।

नगरपालिकाले वडास्तरीय विकास निर्माणका लागि प्रत्येक वडा कार्यालयलाई रु ५० लाखका दरले रकम वितरण गर्ने भएको छ ।

यस्तै, हनुमन्ते र खासाङ्खुसी खोला सफा गर्न सल्लाघारी र हनुमानघाटमा रहेका उपचार पोखरी प्रयोगमा ल्याउने, हनुमानघाट सुधारको गुरुयोजना तयार गर्ने, जनप्रतिनिधि घर–घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, प्रत्येक वडामा शिशु स्याहार केन्द्रहरु सन्चालन गर्ने, नगरपालिकाद्वारा सन्चालित विद्यालयका शिक्षिका र आयाहरुलाई तालिम दिने भएको छ ।

यस्तै, सूर्यविनायक नगरपालिकाले पनि शनिबारै पत्रकार सम्मेलन गर्दै नगरपरिषदले पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरप्रमुख वासुदेव थापाले प्रथम नगरपरिषदबाट आव २०७४/७५ का लागि पारित भएको रु ४८ करोड १० लाख २८ हजारको बजेट सार्वजनिक गरे ।

सरकारबाट निःशर्त रु २४ करोड ७७ लाख ५० हजार, सःशर्त रु १४ करोड ८४ लाख २८ हजार प्राप्त हुने र नगरपालिकाको आन्तरिक आयस्रोतबाट रु ८ करोड ४८ लाख ५० हजारको बजेट उनले सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले नगरक्षेत्रमा रहेका औद्योगिक क्षेत्रको विकास गर्ने, नगरपालिकाको भवन निर्माण गर्ने, वडा कार्यालयलाई राजमार्गसँग जोड्ने सडकको स्तरोन्नति गर्ने, पर्यटन पदमार्ग निर्माण गर्ने, भ्यू टावर निर्माण गर्ने तथा स्मार्ट सिटी बनाउनेलगायत कार्यक्रम सन्चालन गर्ने थापाले बताए ।

‘वडाको विकासका लागि प्रत्येक वडा कार्यालयलाई रु एक करोडका दरले रकम पठाउने निर्णय भएको छ’–उनले भने । रासस