पथलैया–वीरगन्ज ६ लेन सडकको निर्माणकार्यसँगै नेपाल आयल निगमले भारत सरकारको सहयोगमा निर्माण हुने पाइपलाइनको रेखाकंन गर्ने काम थालेको हो ।
लामो समयदेखि चर्चामा रहेको रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको पहिलो चरणको काम सुरु भएको हो । पाइपलाइन जोडिएसँगै नेपालको अर्बौंको चुहावट रोकिनुका साथै भारतबाट इन्धन ल्याउँदा व्यहोर्नुपर्ने धेरै झन्झटबाट निगम मुक्त हुनेछ ।
रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजना फिल्ड कार्यालय सिमराका प्रमुख इन्जिनियर शरद पौडेलले अमलेखगन्ज डिपोबाट सुरु गरिएको रेखांकनको काम पथलैया–वीरगन्ज ६ लेनको सडकमार्गसम्म आइपुगेको बताए ।
भारतले मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ८० किलोमिटर पाइपलाइन विस्तार गर्न बोलपत्र आह्वान गरेसँगै नेपाल आयल निगमले रेखांकन गर्ने र पिलर राख्ने कामलाई गति दिएको हो ।
रेखांकनका लागि एक विज्ञसहित पाँचजना इन्जिनियरको टोली खटिएको छ । अन्तर्राष्ट्रिय मापदन्डअनुसार बनाइने पाइपलाइन रेखांकनको काममा भारतीय प्राविधिकहरुले पनि सहभागी भएर सहयोग गरिरहेका छन् । यो काम एक महिनाभित्रै सम्पन्न हुने जनाइएको छ ।
भारतीय आयल कर्पोरेसनको ३०० करोड भारतीय रुपैयाँ लागतमा निर्माण हुने यो परियोजनामा नेपाल सरकारले ३० प्रतिशत खर्च व्यहोर्नुपर्ने हुन्छ ।
भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म करिब ८० किलोमिटर पाइपलाइनलाई २ दशमलव ५ मिटर जमिनमुनिबाट ल्याइनेछ । पाइपलाइनलाई सडकको किनारै–किनार ल्याइने भएको छ । ९ किलोमिटर पाइपलाइन भने राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निर्माण गरिनेछ ।
सडक विभाग र राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर पाइपलाइनको काम सुरु गरिएकाले कुनै अवरोध सिर्जना नहुने रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजना फिल्ड कार्यालय सिमराले जनाएको छ ।
करिब तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनामा १० दशमलव ५ इन्च मोटो र १२ मिटर लामो पाइपलाई जोडेर जमिनमुनि २ दशमलव ५ मिटर तल बिच्छाउँदै अमलेखगन्जको क्षेत्रीय डिपोमा जोडिनेछ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।









प्रतिक्रिया दिनुहोस्