अर्थ समितिको मंगलबारको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, सिर्जना तरामु र रमेशप्रसाद कुर्मी सदस्य रहेको उपसमिति गठन गरेको हो ।
उपसमितिले उक्त अनियमितता सम्बन्धमा स्थलगत अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउने समितिका सभापति प्रकाश ज्वालाले बताए ।
आयल निगमले इन्धन भन्डारणका लागि झापा, सर्लाही, भैरहवा र चितवनमा जग्गा खरिद गर्नेक्रममा करोडौं अनियमितता भएको सूचना सार्वजनिक भएपछि सो विषयमा मंगलबार समितिमा छलफल भएको हो ।
बैठकमा आपूर्ति मन्त्रालयका सचिव एवं निगम सन्चालक समिति अध्यक्ष प्रेमकुमार राईले जग्गा खरिदसम्बन्धी नीतिगत व्यवस्थाकाबारेमा जानकारी गराएका थिए ।
त्यस्तै, निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद नियमसँगतरुपमा भएको स्पस्ट पारे ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले निगमको जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँको भ्रष्टाचार भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरे ।
बैठकमा सांसदले निगम नेतृत्वले कानुन मिचेर जग्गा खरिद प्रक्रिया अघि बढाइएको र चलन–चल्तीभन्दा बढी मूल्यमा खरिद गरिएको भन्दै आवश्वक छानबिन गरी कारबाहीका लागि सिफारिस गर्न माग गरेका थिए ।
त्यस्तै, बैठकमा कृषि विकास बैंकको जग्गा बिक्री गर्दा अनियमितता भएको भन्ने विषयमा पनि छलफल भएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त विषयमा कुनै अनियमितता नभएको भन्दै बचाऊ गरेका थिए ।
बैठकले कृषि विकास बैंकको जग्गा बिक्री गर्दा अनियममितता भएको भन्ने सम्बन्धमा थप कागजात अध्ययन गरेरमात्र उपसमिति बनाउने निष्कर्ष निकालेको छ । रासस









प्रतिक्रिया दिनुहोस्