Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘आफ्नो पकड क्षेत्र बनाउन नसकेका बाघले मानिसलाई ताक्छ’


0
Shares

                                    चितवन राष्ट्रिय निकुञ्जभित्र भेटिएको दुर्लभ पाटेबाघ । तस्वीर सौजन्यः सागर गिरी । रासस ।

बस्तीभित्रै छिरेर उसले ठूलो आतंक नमच्याएपनि सामुदायिक वन तथा करिडोर क्षेत्रमा उसले २० जना मानिसमाथि आक्रमण गरिसकेको छ ।

अहिलेसम्म नियन्त्रणमा आउन नसकेको उक्त बाघबाट मानवीय जोखिम कायमै छ । मान्छे मार्न पल्केकाले पनि उसले यसरी धेरै मान्छेलाई आक्रमण गरेको अनुसन्धानकर्मीहरु बताउँछन् ।

चार वर्षअघि अर्काे एउटा बाघले नवलपरासीको त्रिवेणी क्षेत्रमा फुटबल हेरिरहेका एकजना दर्शकलाई तानेर लग्यो । त्यसपछि राष्ट्रिय निकुञ्जका खोरमा ल्याएर राखिएको उक्त बाघले खोर नाघेर निकुञ्जका कर्मचारी हरि बोटलाईसमेत मार्‍यो ।

यो बाघ भारतमासमेत पुग्ने गरेको अध्ययनले देखाएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका अनुसन्धान अधिकृत बाबुराम लामिछाने बताउँछन् ।

यी दुई घटना एउटा उदाहरण हुन् । मुख्यगरी आफ्नै पकड क्षेत्र बनाउन नसकेका र अरु बाघले विस्थापित गरेका बाघबाट बढी मानवीय जोखिम देखिने गरेको हालै गरिएको एक अध्ययनले देखाएको छ । यस्ता बाघ २२ ओटा पाइएका छन् ।

‘अरुचाहिँ घाइते, अशक्त, मान्छे खान बानी परेको र जम्काभेट हुँदा बाघले मान्छेमाथि आक्रमण गर्ने गरेको पाइएको छ’–अनुसन्धान अधिकृत लामिछाने भने ।

चितवन राष्ट्रिय निकुञ्जमा लामिछानेलगायत निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. चिरञ्जीवी पोखरेल, अर्का विज्ञ डा. नरेश सुवेदीलगायतको टोलीले सन् २००७ देखि २०१६ सम्म अनुसन्धान गरेको थियो ।

सो अनुसन्धानको हालै सार्वजनिक प्रतिवेदनअनुसार चितवनमा भएका बाघमध्ये २२ ओटा बाघ यस्तो समस्याले ग्रस्त देखिएको पाइएको छ । यो कुल संख्याको करिब ५ प्रतिशत हो । चितवनमा हाल १२० बाघ रहेको अनुमान छ ।

बाघको तस्वीर र पाइलालाई क्यामेरा ट्रयापमा परेका बाघसँग दाँजेर अध्ययन गरिएको थियो ।

‘तिनीहरुको मुभमेन्ट, पाइला, उद्धार गर्नेक्रममा हेरेर तथा विभिन्न विधि अपनाइ अनुसन्धान गरिएको हो–लामिछाने भन्छन् ।

आनीबानी, उमेर समूह, कुन समयमा आक्रमण गर्छ, क्षेत्र कस्तो छलगायतका विषयमा अध्ययन गरिएको थियो ।

सार्वजनिक तथ्यांकअनुसार २२ मध्ये १७ ओटा बाघले भने पकड क्षेत्र बनाउन नसक्दा आफ्नो ठाउँ खोज्नेक्रममा आक्रमण गरेको पाइएको छ ।

अरु पाँचमध्ये आफ्नो पकड क्षेत्र भएरपनि समस्याग्रस्त बनेका बाघ तीनओटामात्रै छन् भने समस्याग्रस्त रहेका दुईओटाको अवस्था पत्ता लगाउन सकिएको छैन ।

बाघले २० देखि ४० किलोमिटर क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छ । यसमा तीनदेखि पाँच वर्षका बाघ ९ ओटा छन् भने १४/१५ वर्षका बाघ चारओटा छन् । अरु बाँकी बाघ ६ वर्षदेखि १३ वर्षबीचका रहेको जनाइएको छ ।

सामान्यतः बाघको आयु १५/१६ वर्ष हुन्छ । बढी मानवीय चापले नै उनीहरुलाई समस्यामा पारेको छ । उनीहरु सानो खुम्चिएको स्थानमा बस्नुपरेको छ ।

आफ्नो क्षेत्र (टेरीटोरी) खोज्न जानेक्रममा बस्तीमा आइपुग्दा यस्ता घटना हुने गरेका छन् ।

नियतवश बस्तीमा भने नआएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख तथा बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेल बताउँछन् ।

उनकाअनुसार लजालु स्वभाव हुने गरेकाले बाघ हम्मेसी मानवीय बस्तीमा आउँदैनन् ।

‘उसको संरक्षणका लागि जैविकमार्गको संरक्षण गर्नुपर्छ, आहारा प्रजाति बढाउनुपर्छ, अनि बासस्थान विस्तार गर्नुपर्छ’–डा. पोखरेल भन्छन् ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बस्तीमा निस्किएका र मान्छेमाथि आक्रमण गर्ने बाघलगायत जनावरलाई नियन्त्रणमा लिने गरिएको र घाइते भए उपचारपछि निकुञ्जमै छाड्ने गरिएको बताउँछन् ।

मान्छे खानेलाई भने छाड्ने गरिएको छैन । यसरी बस्तीमा परेका जनावर पुनः जंगलमै पुनःस्थापना गर्ने कामसमेत सफल भएका उदाहरण रहेको अनुसन्धानकर्मीहरु बताउँछन् ।