Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कृषि पेशाबाटै वार्षिक ४० लाख रुपैयाँ कमाउने तिलविक्रमको कथा (भिडियो)


0
Shares

-जितेन्द्र भण्डारी/ईमेज

कृषि पेशाबाटै उनले वार्षिक ४० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

पाँचथरको फाक्तेपका तिलविक्रम चेम्जोङले मौरीपालनबाटै वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

त्यसैगरी अलैंची नर्सरीबाट विरुवा बिक्री गरेर वार्षिक १५ लाख, अलैंची उत्पादन गरेर वार्षिक १५ लाख, माछापालन गरेर वार्षिक १ लाख, किबी फलबाट १ लाख र गाईपालनबाट वार्षिक २ देखि अढाई लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

कृषिबाटै उनले घरखर्च मात्र चलाएका छैनन्, दुई छोरालाई बोर्डिङ स्कुलमा पनि पढाएका छन् । आफूले कमाएको केही रकम साथीभाईलाई ब्याजमा लगाएका छन् ।

घरपरिवारले समेत साथ दिएको यो पेशाबाट स्वदेशमै केही गर्न सकिने आत्मविश्वास बढाएको उनी बताउँछन् ।

सरकारले कृषिलाई प्राथमिकतामा दिएर सोहीअनुसारको शिक्षा दिन सके बेरोजगारीसमस्या समाधान हुनेमा उनी आशावादी छन् ।

चेम्जोङले गरेको व्यावसायिक कृषि खेतीबाट आकर्षित भएर गाउँका एक सयभन्दा बढी बेरोजगार युवा पनि मौरीपालन र अलैंची खेतीतर्फ लागेका छन् । समाजमा पनि उनको प्रशंसा हुन थालेको छ ।

कृषि पेशासँगै उनी राजनीतिमा पनि सक्रिय छन् । तर फोस्रा आदर्श र विचारले मात्र राजनीति नहुने र राजनीतिलाई पेशा बनाउन नहुने उनको भनाइ छ ।

चेम्जोङ असल कृषक र राजनीतिज्ञ बनेर समाज परिवर्तनको अभियानमा लागेका छन् ।

सफल कृषक चेम्जोङले गरेको व्यावसायिक कृषि पेशाबाट भाषण मात्रै गर्दै हिँड्ने राजनीतिक दलका नेता तथा वेरोजगार युवायुवतीलाई गतिलो पाठ सिकाएका छन् ।