
बीबीसीकाअनुसार अभिषेक प्रसाद नाम गरेका ३२ वर्षीय ती युवकले गितार धेरै बजाउन थालेपछि सामान्य भाषामा ‘म्युजिसियन्स डिस्टोनिय’ भन्ने रोगका कारण उनमा दाहिने हातको साँहिली औंला बाउँडिने समस्या आएको थियो ।
मेडिकल भाषामा ‘न्यूरोलोजिकल डिस्अर्डर’ अर्थात् मस्तिष्कको स्नायुमा आएको खराबीका कारण उनलाई गितार बजाउन समस्या भएको थियो । जब उनी गितार बजाउँथे तब उनको औंला बाउँडिन थाल्थ्यो ।
अभिषेकले आफू भविष्यमा प्रख्यात गितारबादक बन्न चाहेको र त्यसका लागि आफूले जागिरसमेत छाडेको बताए ।
उनी गितार नै बजाउन नमिल्ने भएपछि गत बिहीबार सिटी अस्पताल बैंगरलोरमा न्यूरो शल्य चिकित्सक शरण श्रीनिवासनसँग भेट्न पुगेका थिए ।
डा. श्रीनिवासनले अभिषेकको मस्तिष्क ‘एमआरआइ’ गरेर हेरेपछि प्रत्यक्ष मस्तिष्क सर्किट सर्जरीमार्फत् उपचार गर्नुपर्ने सुझाव दिएका थिए ।
अभिषेक भन्छन्–‘औंलाको उपचार गर्न धेरै ठाउँमा गएँ, कसैले भिटामिन दिए त कसैले थेरापी गराए । तर, औंला ठिक भएन ।’
डाक्टरको सल्लाहले डर लागेपनि गितार बजाउँदै प्रत्यक्ष मस्तिष्क सर्किट सर्जरी गराउँदा आफूलाई हौसला बढेको बताउँछन्, अभिषेक ।
डा. श्रीनिवासनले ९ महिनाअगाडि पनि ‘म्युजिसियन्स डिस्टोनिय’को बिरामीको सफल शल्यक्रिया गरेका थिए । तर, बिरामीलाई गितार बजाउँदै प्रत्यक्ष मस्तिष्क सर्किट सर्जरी भने पहिलोपटक गरेका हुन् ।
डा. श्रीनिवासनकाअनुसार मस्तिष्कको कुनै एक स्नायुले काम नगरेमा ‘डिस्टोनिय’को समस्या आउने गर्दछ ।
उनले भने–‘अभिषेकको मस्तिष्कभित्र करिब ८ देखि ९ सेमी गहिराइमा १४ एमएमको आधुनिक इलेक्ट्रोड स्कुल घुसारेर समस्यायुक्त मांसपेसीलाई जलाएर नस्ट गरिएको हो ।’
निकै जोखिम मानिएको प्रत्यक्ष मस्तिष्क ‘सर्किट सर्जरी’ बिरामी स्वयंले गितार बजाएर समस्याग्रस्त भाग पहिचान गर्न सजिलो भएकाले जोखिम कम भएको डा. श्रीनिवासनको भनाइ छ ।
सामान्य अवस्थामा शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाइन्छ । तर, अभिषेकले भने आफ्नो मस्तिष्कको शल्यक्रिया गर्न गितार बजाएर चिकित्सकलाई उपचारमा सहयोग गरेको सम्भवतः भारतमा पहिलो घटना भएको अस्पतालले उल्लेख गरेको छ ।
डा. श्रीनिवासनले शल्यक्रियाकाक्रममा स्थानीय एनेस्थेसिया (बिरामी लठ्याउने चिकित्सक)को निगरानीमा गरिएकाले बिरामीलाई पीडाको अनुभव नभएको बताए ।
अस्पतालकाअनुसार उनको शल्यक्रिया गर्न करिब ७ घन्टा लागेको र उनको अवस्था अहिले सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्