Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


यति एअरलाइन्सले भित्र्यायो ७२ सिटे एटीआर विमान (५ तस्वीर)


0
Shares

काठमाडौंमा शनिबार अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा खरिद गरेको हो ।

फ्रान्सको विमान निर्माता कम्पनी एटीआरमा निर्मित उक्त विमान सिंगापुरबाट थाइल्यान्ड र थाइल्यान्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एअरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए ।

उनकाअनुसार यो विमानले सातापछि विराटनगर, भैरहवा, नेपालगन्ज र भद्रपुर उडान थाल्नेछ ।

यो एटीआर विमानसँगै यतिका अब सातओटा विमान भएको छ । हाल यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका ६ थान जहाज सन्चालन गरिरहेको छ ।

यतिले यस वर्षभित्र थप दुई एटीआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी भएको र एक महिनापछि अर्को विमान आउने व्यवस्थापक राईले जानकारी दिए ।

बुद्ध एअरले सुरुमै चारओटा एटीआर विमानबाट सेवा दिँदै आएको छ ।

भौतिक पूर्वाधार साँघुरो रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा एटीआर विमानले सहजता हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

‘उडान सन्चालनमा सहज हुन्छ, साना विमानको भीडमा ठूलो विमान हुँदा आकाशमा ‘होल्ड’ गर्नुपर्ने अवस्था आउँदैन, ‘एअर ट्राफिक’ जाम पनि हुँदैन र यसले ‘फ्रिक्वेन्सी’ जाममा पनि नपर्ने हुँदा उडानमा सहजता हुन्छ’–उनले भने ।

प्रवक्ता ठाकुरले विमानस्थलको क्षमता साँघुरो भएपनि पर्यटन प्रवद्र्धनार्थ जहाज थपिनु सकारात्मक भएको धारणा व्यक्त गरे ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकोप्टरसहित २० ओटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । रासस