फाइल फोटो
साझा यातायातले १३ ओटा नयाँ बस खरिद गरेर सेवा विस्तार गर्न लागेको हो । साझाले अहिले दैनिक एउटा काठमाडौं–बाग्लुङ सेवा सन्चालन गरिरहेको छ ।
देशका अरु भागमासमेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।
साझाको पुरानै रङ र सेवा हुनेछ । १३ ओटा नयाँ गाडीमध्ये १२ ओटा डिलक्स र एउटा अपांगता, ज्येष्ठ नागरिकमैत्री होचो गाडी छ । यी बस केही समयमा नै उपत्यका भित्रने उनी बताउँछन् ।
नयाँ रुटको टुंगो अहिले नै साझाले गरिसकेको छैन । उनले भने–‘धेरै ठाउँबाट माग भएको छ, त्यहीमध्येबाट गाडी आएपछि छनोट हुनेछ ।’
गत वर्ष काठमाडौं महानगरपालिकाले रु १० करोडको सेयर खरिद गरेको थियो । त्यही रकमबाट साझाले नयाँ बस खरिद गर्न लागेको हो ।
ललितपुर महानगरपालिकाले पनि केही दिनपहिले रु एक करोडको सेयर खरिद गरेको थियो । गत ३० गते महानगरपालिका र साझा यातायातकाबीचमा सम्झौता भएको हो ।
वि.सं. २०१८ मा स्थापित साझा यातायात पहिले उपत्यका र उपत्यकाबाहिर सहज यातायातको साधन मानिन्थ्यो । दुई दशक बन्द भएपछि गत वर्षको वैशाखबाट फेरि सन्चालनमा आएको हो । रासस









प्रतिक्रिया दिनुहोस्