३० असार २०८२, सोमबार | Mon Jul 14 2025


पाकिस्तान : ७ दशक लामो इतिहासमा कुनै प्रधानमन्त्री पुरा कार्यकाल टिकेनन्


0
Shares

शुक्रबार पाकिस्तानका प्रधानमन्त्री नवाश शरीफलाई त्यहाँको अदालतले भ्रष्टाचारसम्बन्धी एक मुद्दामा फैसला गर्दै उनी पदमा रहन अयोग्य ठहर्‍याएको थियो । अदालतको सो फैसलालगत्तै शरीफले राजीनामा दिए ।

शरीफले तेस्रो पटक पाकिस्तान सरकारको नेतृत्व गरे पनि तीनै पटक पुरा कार्यकाल टिक्स असफल रहे ।

स्वतन्त्र राष्ट्रको अस्तित्वमा आएपछि लियाकत अली खान पाकिस्तानको पहिलो प्रधानमन्त्री बनेका थिए । सन् १९४७ अगस्टमा प्रधानमन्त्री बनेका उनको १९५१ अक्टोबरमा हत्या भएको थियो ।

त्यसपछि पाकिस्तान सरकारको नेतृत्व ख्वाजा निजामुद्दीनले सम्हाले । अक्टोबर १९५१ मा प्रधानमन्त्री बनेका उनी अप्रिल १९५३ सम्ममात्र सत्तामा रहे । उनलाई गभर्नर जनरल मलिक गुलामले बर्खास्त गरेका थिए ।

निजामुद्दीन बर्खास्त भएपछि मुहम्मद अली बोगरा पाकिस्तानको प्रधानमन्त्री बने । तर गभर्नर जनरल मलिक गुलामले नै बोगरालाई समेत १९५४ मा बर्खास्त गरे । सोही वर्ष भएको आम निर्वाचनपछि बोगरा पुनः प्रधानमन्त्री बने । तर पाकिस्तानका पहिलो राष्ट्रपति इस्कन्दर अली मिर्जाले सन् १९५५ मा उनलाई पदबाट हटाए ।

त्यसपछि मुस्लिम लिगका नेता चौधरी मुहम्मद अलीले सरकारको नेतृत्व सम्हाले । सन् १९५५मा सरकारको नेतृत्व सम्हालेका उनलाई सन् १९५६ मा जारी संविधान निर्माणमा अहम् भूमिका निर्वाह गरेका नेतामध्ये एक मानिन्छ । तर राष्ट्रपति इस्कन्दरसँगको विवादका कारण उनले सन् १९५६ मा राजीनामा दिए ।

सेप्टेम्बर १९५६ मा हुसैन शाहिद सुहरावर्देले सरकारको नेतृत्व सम्हाले । यसअघि सबै प्रधानमन्त्री मुस्लिम लिग पार्टीबाट चयन हुँदै आएका थिए । र सुहरावर्दे त्यस्तो पहिलो प्रधानमन्त्री थिए जो मुस्लिम लिग पार्टीका थिएनन् । उनी अवामी लिगका नेता थिए । अक्टोबर १९५७ मा राष्ट्रपतिसँगको विवादका कारण उनले पनि राजीनामा दिए ।

अक्टोबर १९५७ मा प्रधानमन्त्री बनेका इब्राहिम इस्माइल चुन्द्रिगरले दुई महिनामात्र सरकारको नेतृत्व गरे । उनले डिसेम्बर १९५७ मा राजीनामा दिए ।

सातौं प्रधानमन्त्रीका रुपमा फिरोज खान नून चयन भए । उनी रिपब्लिकन पार्टीका नेता थिए । सन् १९५८ मा जनरल अयुब खानले सैन्य शासन लागू गर्दै उनलाई पदच्यूत गरे ।

अगस्ट १९७३ मा जुल्फिकर अली भुट्टोले प्रधानमन्त्री पद सम्हाले । उनले प्रधानमन्त्री बन्नकै लागि राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । चर वर्षको शासनपछि जनरल मुहम्मद जिया उल हकले उनलाई अपदस्थ गरे । सन् १९७९ मा भुट्टोलाई मृत्युदण्ड दिइयो ।

जिया उल हकले सन् १९७७ मा सैन्य शासन लागू गरेपछि आफूलाई राष्ट्रपति घोषित गरे । त्यसपछि सन् १९८५ मा निर्वाचन भयो । निर्वाचनबाट मुहम्मद खान जुनेजोलाई पाकिस्तानको १० औं प्रधानमन्त्री चयन गरियो । सन् १९८८ मा संविधानको आठौं संशोधनपछि उनलाई राष्ट्रपतिले बर्खास्त गरे ।

सन् १९८८ अगस्टमा बेनजिर भुट्टो प्रधानमन्त्री बनिन् । उनी देशकी पहिलो महिला प्रधानमन्त्री थिइन् । जुनेजोको बाँकी कार्यकालका लागि प्रधानमन्त्री बनेकी भुट्टो अगस्ट १९९० सम्म सरकारमा रहिन् ।

त्यसपछि नवाज शरीफ प्रधानमन्त्री चुनिए । राष्ट्रपति गुलाम इशक खानसँग विवादका कारण सेनाको दबाबमा उनले सन् १९९३ मा सत्ता छाड्नु परेको थियो ।

त्यसपछि बेजजिर भुट्टो पुनः प्रधानमन्त्री चयन भइन् । सन् १९९३ अक्टोबरमा सरकारको नेतृत्व गरेकी उनी ५ नोभेम्बर १९९६ सम्म सत्तामा रहिन् । उनलाई तत्कालिन राष्ट्रपति फारुक लेघारीले भ्रष्टाचारको आरोपमा बर्खास्त गरे ।

सन् १९९७ मा नवाज शरीफ प्रधानमन्त्री बने । तर सन् १९९९ मा तत्कालिन सेना प्रमुख परवेज मुशर्रफले उनलाई अपदस्थ गरे ।

पाकिस्तान मुस्लिम लिगका नेता जफरउल्लाह खान जमाली सन् २००२ नोभेम्बरमा प्रधानमन्त्री बने । उनी तत्कालिन सैन्य शासक परवेज मुशर्रफले सत्ता आफ्नो हातमा लिएपछि निर्वाचनका माध्यमबाटै प्रधानमन्त्री बनेका हुन् । तर मुशर्रफसँग केही विषयमा विमती राख्दै उनले जुन २००४ मा राजीनामा दिए ।

जमालीको राजीनामापछि शुजात हुसैन प्रधानमन्त्री बने । उनी पनि तीन महिनामात्र टिक्न सके । त्यसपछि शौकात अजीजले प्रधानमन्त्री पद सम्हाले । २० अगस्ट २००४ मा प्रधानमन्त्री बनेका अजिजले १६ नोभेम्बर २००७ मा संसदीय कार्यकाल पुरा गरेपछि सरकार हस्तान्तरण गरेका हुन् ।

आम निर्वाचनमा बहुमतका साथ पाकिस्तान पीपुल्स पार्टीका प्रमुख नेता युसुफ रजा गिलानी प्रधानमन्त्री बने । सन् २००८ मार्च २५ मा सरकारको नेतृत्व गरेका उनी १९ जुन २०१२ मा अदालतको आदेशअनुसार सत्ता छाड्न बाध्य भए । अदालतले उनलाई अदालतको अवहेलनासम्बन्धी दोषी ठहर गर्दै प्रधानमन्त्री पदमा रहन ‘अयोग्य’ घोषणा गरेको थियो ।

२२ जुन २०१२ मा राजा परवेज अशरफ मुलुकको प्रधानमन्त्री चयन भए । उनी करिब नौ महिना सत्तामा रहे ।

त्यसपछि नवाज शरीफ प्रधानमन्त्री चयन भए । संसदीय निर्वाचनमा उनको पार्टीले बहुमत हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका हुन् । तर शुक्रबार सर्वोच्च अदालतले उनलाई पदमा रहन अयोग्य घोषणा गरेपछि उनले राजीनामा दिएका छन् । (एजेन्सी)