
वाग्मती र धोबीखोला कोरिडोरबाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएरपनि खर्च हुनसकेको छैन ।
सरकारले धोबीखोला, वाग्मती, विष्णुमति, नख्खुखोला, महादेवखोला र साङ्लाखोला कोरिडोर निर्माण सुरु गरेको छ ।
खोला कोरिडोरमा सडक निर्माण गर्नुको ध्येय खोला संरक्षण र सौन्दर्यीकरण गर्नु भएपनि तोकिएको समयमा निर्माण सम्पन्न नहुनेले स्थानीयवासीलाई राहत होइन, आहातमात्रै दिएको छ ।
सरकारले निर्माणकार्यमा प्रगति भएको ठानेको धोबीखोला कोरिडोरका कारण पानी पर्दा हिलो र सुक्खा हुँदा धुलोको मारमा राजधानीवासी परेका छन् ।
सो आयोजनाको सडक किनारमा गरी कुल २२ किलोमिटर ट्र्याक खुलेको छ । तर, ट्र्याक खोलेकोमध्ये ५०० मिटर सडक पहिरोका कारण क्षतिग्रस्त भएको छ ।
सो सडकखन्डमा आयोजनाले ६ किलोमिटर कालोपत्रे गर्ने भनेर ठेक्का गरेको भएपनि आर्थिक वर्ष २०७३/७४ मामात्रै दुई किलोमिटर सडक कालोपत्र भएको सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए ।
सो आयोजनाको पूरै सडकखन्डमा ढल राख्ने कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएपनि हालसम्म १२ किलोमिटर क्षेत्रमामात्रै ढल राखिएको छ । सो आयोजनाका लागि आव २०७३/७४ मा रु ४५ करोड बजेट विनियोजन भएको भएपनि तोकिएअनुसार काम हुनसकेन ।
सो आयोजनाका लागि थप रु ६० करोड लगानी आवश्यक पर्ने सहरी विकास मन्त्रालयको भनाइ छ । तर, मन्त्रालयले सो आयोजनालाई बहुवर्षीय ठेक्कामा लगाउने र आगामी दुई वर्षभित्रमात्रै सम्पन्न हुने जनाएको छ ।
मागअनुसारको बजेट प्राप्त भए ढल कालोपत्रे, टेवा–पर्खाललगाउने कार्यसमेत सम्पन्न हुने र एउटा महत्वपूर्ण आयोजना सम्पन्न हुने मन्त्रालयको विश्वास छ ।
तर, स्थानीयवासीले भने सरकारले भन्दै आएअनुसार आयोजनामा प्रगति नभएकोमा गुनासो गरेको र गुनासोसमेत जायज नै रहेको सचिव शर्माको भनाइ छ ।
यस्तै, लामो समयदेखि चर्चामा रहेको तर कार्यप्रगति सोचअनुसार हुन नसकेको अर्को आयोजना हो, वाग्मती कोरिडोर । सो आयोजनामा हालसम्म २० किलोमिटर कोरिडोर र ढल बिच्छ्याउने कार्य सम्पन्न भएको र १३ किलोमिटरमात्रै सडक कालोपत्रे भएको छ ।
नदी किनारलाई सुन्दर बनाउन, रुख बिरुवा रोप्ने कार्यका लागिमात्रै रु दुई अर्ब ५० करोडको ठेक्का सम्झौता भइसकेको छ । सो आयोजनाका लागि चालू आवमा रु ७० करोड विनियोजन भएकोमा ६ किलोमिटरमा ढल र कालोपत्रे गरिने सचिव शर्माको भनाइ छ ।
उपत्यकाको अर्को महत्वपूर्ण नदी विष्णुमतिको व्यवस्थापनकार्य अगाडि बढेपनि तोकअनुसारको प्रगति हुनसकेको छैन । आव २०७३/७४ मा नै १२ किलोमिटर क्षेत्रमा नदी संरक्षण र पर्खाल लगाउनुपर्ने भएपनि पाँच किलोमिटर क्षेत्रमामात्रै निर्माण सम्पन्न भएको छ । चालू आवमा सो आयोजनाको कामलाई गति दिने मन्त्रालयको भनाइ छ ।
नख्खुखोलामा आव २०७३/७४ मा तीन किलोमिटर कोरिडोर खोल्नुपर्ने योजना रहेपनि सरकारी निकायले ध्यान नदिएको, निर्माण व्यवासायीले तोकिएको समयअनुसार काम नगर्दा २७२ मिटर सडकमात्रै निर्माण हुनसकेको छ ।
सो आयोजनाका लागि चालू आवमा रु दुई करोड बजेट विनियोजन भएको र सम्पन्न हुन रु ४५ करोड लाग्नेछ । सो आयोजनालाई पनि बहुवर्षीय आयोजनाकोरुपमा राखिएको छ ।
साङ्लाखोला कोरिडोरको दुई किलोमिटरमात्रै कोरिडोरको ट्र्याक खोलिएको छ । सो आयोजनाको लागि आव २०७३/७४ मा रु तीन लाख ९६ खर्चमात्रै खर्च गरिएको छ ।
बजेट रु दुई करोड विनियोजन भएपनि खर्च हुनसकेन । थप बजेट माग भएको र परियोजना अगाडि बढ्ने मन्त्रालयको विश्वास छ ।
महादेवखोला कोरिडोर पनि तीन किलोमिटरमात्रै ट्र्याक खोलिएको छ । सो आयोजनाका लागि रु १७ करोड बजेट प्राप्त भएपनि रु १५ करोडमात्रै खर्च भएको छ ।
सडक विस्तार कछुवागतिमा
काठमाडौं उपत्यकामा ६६७ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य राखिएको भएपनि हालसम्मको प्रगति केवल ५० प्रतिशतको हाराहारीमामात्रै रहेको छ ।
हालसम्म ३५० किलोमिटर सडकमात्रै विस्तार भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।
यस्तै, आव २०७३/७४ आवमा नै विस्तार हुनुपर्ने १३० किलोमिटर सडकसमेत स्थानीयवासीको अवरोध, अदालतको ‘स्टे अर्डर’लगायतका कारणबाट रोकिएको छ ।
रोकिएको सडक विस्तारलाई अगाडि बढाउने र २६ किलोमिटर चालू आवमा विस्तार गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ ।
काठमाडौं उपत्यकामा सडक विस्तारका लागि हालसम्म रु दुई अर्ब ९४ करोड १६ लाख १३ हजार खर्च भएको छ ।
सहरी विकासमन्त्री प्रभु साहले सडक विस्तार कार्यमा भइरहेको ढिलाइलाई कम गर्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न र नदी किनारका कोरिडोरको विकासमा आफूले विशेष कार्यसूचीमा राखेर काम सुरु गरेको बताए ।
मन्त्री साहले आफू नियमित अनुगमनमाा रहेको, निर्माण व्यवसायीलाई जिम्मेवार भएर काम गर्नसमेत आग्रह गरेको जानकारी दिँदै अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने बताए । रासस









प्रतिक्रिया दिनुहोस्