Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


हराउँदै गएको चर्खाबाट धागो कातेर आयआर्जन गर्दै महिला


0
Shares

चाउरी परेको अनुहारमा चमक देखिन्थ्यो । उनले भनिन् – ‘अलेली सहयोग हुन्छ । एकछिन–एकछिन हो बाबु । भैँसी छ, बाख्रा छ, त्यो एकछिन–एकछिन बस्या बेला गर्ने हो । यसमा मात्रै ध्याउन्न हुन्न ।’ दुई दिनको फुर्सदको समय निकालेर दुई किलो १०० ग्राम धागो कातेकी सुखमायाले झण्डै रु ३०० बुझेर गइन् ।

एकै छिनमा यसैगरी धागो च्यापेर संस्थामा आइन् वृद्ध हिमलाल घले । चार दिनमा दुई किलो ऊन तयार पारेको बताउने उनी संस्थाबाट रु २८० बुझेर गए । महिलाले सिकेको कामले पुरुषलेसमेत फाइदा लिँदै छन् भन्ने उदाहरण हुन् उनी ।

पहिले यहाँका महिलालाई रु १०० जम्मा गर्न धौधौ थियो । चर्खा कार्यक्रम शुरु भएपछि उनीहरुलाई वैकल्पिक पेशा गर्न ऊर्जा मिलेको छ । एकसय बचत गर्न नसक्नेहरु अहिले सहकारीमा १२ हजार रुपैयाँ भन्दा बढी जोहो गर्न सफल भएका छन् ।

चर्खा घुमाउने पेशा पछिल्लो समयमा जहीँतहीँ देखिँदैन । फाट्टफुट्ट देखिए पनि यो पेशा हराउँदो छ । आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो कात्ने घरेलु प्रविधिको यो पेशाले स्थान पाएको देखिँदैन ।

हराउँदै गएको यो पेशा चितवनको पूर्वीक्षेत्र पदमपुरमा भने कायमै छ । यहाँका स्थानीय महिला अहिले फुर्सदको समयको भरपूर उपयोग गर्दै चर्खा घुमाउँछन् ।

कालिका नगरपालिका– २ पदमपुरका बुद्धिमाया घले पनि ऊन कात्छीन् । चर्खा चलाएपछि यहाँको महिलामा फुर्सदको समय मजैले सदुपयोग भएको र आम्दानी पनि बढेको बुद्धिमायाको अनुभव छ ।

कच्चा पदार्थ (भेंडाको रौँ) ल्याउने, दिदीबहिनीलाई धागो कात्न लगाउने र तयारी ऊन बनाएर फेरि पठाउने व्यवस्थापनको जिम्मा छ । यो गरेबापत उनले १० प्रतिशत ‘कमिसन’ पाउँछिन् । यहाँ अहिले २६० महिलालाई चर्खा वितरण भएको छ । १२० जना चर्खा समूहमा आबद्ध छन् ।

गाउँमा उनीहरु नै संलग्न भएर खोलेको चेतना चेली बहुउद्देश्यीय सहकारीले पनि ८० जना महिलालाई चर्खा दिएको समूहका सचिव तथा सहकारीका अध्यक्ष सत्यादेवी श्रेष्ठ बताउँछिन् । अहिले बुढापाका, महिला सबैले सानो कमाइसमेत बचत गर्न थालेको उनी बताउँछिन् । रु १०० जम्मा गर्न नसक्नेको अहिले १२ हजार रुपैयाँसम्म सहकारीमा जम्मा भइसक्यो ।

‘त्यही हो मासिक १०-१५ क्विन्टलसम्म ऊन बन्छ,’ बुद्धिमायाले भनिन्– ‘गाउँका महिलाले नजानिँदो किसिमले आम्दानी गरेका छन् ।’ चर्खा चलाएर एक किलो ऊन कातेकोे ज्याला रु १४० छ । फुर्सदको समयमा महिला दिनमा दुई किलोसम्म ऊन कात्छन् । सहयोग पाउने हो भने यहीँ व्यवस्थापन गर्नसक्ने उनी बताृँछिन् ।

वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन निकुन्ज, स्थानीय सामुदायिक वन, हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सन्चालन गरेको हो ।

कोषका कार्यक्रम अधिकृत सन्तोष भट्टराईका अनुसार पहिले महिला फुर्सद भएपछि दाउरा संकलन गरेर बिक्री गर्थे । अहिले फुर्सदको समय सदुपयोग गरेर घरमै आर्थिक उपार्जन गर्छन् । जंगलमाथिको मानवीय चाप घटाउन चर्खा कार्यक्रम ल्याइएको कोषका कार्यक्रम सहायक परमानन्द गर्ग बताउँछन् ।

चर्खा उनीहरुको वैकल्पिक पेशा हो । अन्य समयमा अरु नै काम गर्ने भएकाले फुर्सदको समय खेर गएको छैन । पहिले–पहिले फुर्सद भयो कि जंगल जाने, दाउरा खोज्ने, अनि बिक्री गर्ने चलन अहिले चर्खाले हटाउँदै लगेको छ ।

कच्चा पदार्थ दिने र उत्पादित ऊन तथा गलैंचा लिने काम युनिक ऊनी धागो उद्योग काठमाडौंले गर्छ । उद्योगका सन्चालक मोहन सुवेदी अहिले मेसिनका कारण हातले बुनेको ऊनको माग घट्दै गएको दुखेसो गर्छन् ।

‘कोही–कोही हातले नै बुनेको भनेर अर्डर गर्छन्, उनीहरुका लागि जेनतेन धानेका छौँ,’ सुवेदीले भने–‘नेपालीले खपत गर्न सक्दैनन्, सबै बाहिर पठाउनुपर्छ । अर्डर नै छैन बाहिर, मजदुरलाई काम दिनै गाह्रो भो ।’

गलैँचासमेत बुन्न थाले महिला

सामुन्नेमा बुट्टैबुटा भएको नक्सा छ । छेउमा फरक–फरक रंगका पाँच÷सात ओटा डल्ला ऊन छन् । ती ऊन नम्बरअनुसारका छन् । अगाडि गलैँचाको तानमा नक्सा हेर्दै गलैँचा बुन्दै छिन् पदमपुरका लीला लामा ।

‘कुन ठाउँमा कुन रंगको बुट्टा राख्ने पहिल्यै खुट्याउनु पर्छ, नत्र बुट्टा मिल्दैन’ लामाले भनिन्– ‘धेरै बुट्टा भएको गलैँचा बुन्न साह्रै दिमाग लगाउनुपर्छ ।’ कुन बुट्टामा कति नम्बर धागो जान्छ भन्ने कुरा महत्वपूर्ण हुने उनी बताउँछिन् ।

घर बनाउने मजदुर थिइन् लीला । टपटपी पसिना चुहाएर घोटिनुपथ्र्याे । न शरीरलाई सुविस्ता न स्वास्थ्यको ख्याल । कहिले त महिनौंसम्म पनि काम पाइन्थेन । तीन बच्चा र श्रीमान्सहितको पालनपोषणको जिम्मा उनकै थियो ।

‘कतिन्जेल यो श्रम गर्ने, बल छउन्जेल त हो अनि के गर्ने ?’ उनको मनमा खुल्दुली हुन्थ्यो । त्यसपछि चर्खा चलाउन थालिन् । शुरुमा चर्खाबाट राम्रै आम्दानी गरेकी उनले अझै आम्दानी बढाउन गलैँचा बुन्दै छिन् ।

‘काठमाडौंमा १५ वर्षअघि सिकेको शीप अहिले काम लाग्यो,’ हाँस्दै बुद्धिमायाले भनिन्– ‘एक महिनामा एउटा सजिलै तान खस्छ ।’

‘घर बनाउनेमा दैनिक काम हुन्न, यो भित्र बसेर बुन्ने हो, जति छिटो बुन्यो आफूलाई फाइदा, यो त सजिलो पेशा भएर लेबर छाडेको’– विगतको अनुभव सुनाउँदै उनले भनिन् ।

पछिलो समयमा यहाँका महिलाले गलैँचासमेत बुन्न सुरु गरेका छन् । देवी विक, लीला लामा, ललिता प्रजा, बीमा थिङ र शान्ति गुरुङ गलैँचा बुनेर आम्दानी बढाउँदै छन् । सामान्यतः एक थान गलैँचा बुनेको उनीहरुले सात हजार ज्याला पाउन्छन् ।

एक थान गलैँचाको बढीमा १८ हजार रुपैयाँसम्म पाउने गरेको बुद्धिमायाको भनाई छ । चितवनको पदमपुरबाट पाँच ओटा गलैँचा बुनेर पठाइसकिएको छ । गरिब न्यून आय भएकाका लागि यो कार्यक्रम निकै उपयोगी छ ।

यसरी सुरु भयो चर्खा कार्यक्रम

तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषले विसं २०६१ बाटै पाँच समूह गठन गरेर चर्खा कार्यक्रम ल्याएको थियो । बुद्धिमायाकै नेतृत्वमा यहाँ १०० चर्खा बाँडियो । चितवन निकुन्जको जंगलबीचमा बसेको साविक पदमपुर गाविस नै स्थानान्तरण भएकाले उनीहरुलाई आयआर्जनमा सहज पार्न यो कार्यक्रम सुरु गरिएको थियो ।

कोषका प्रमुख डा.चिरञ्जीवी पोखरेल विपन्नलाई जंगलमा आश्रित हुन नपरोस्, उनीहरुको फुर्सदको समयको सदुपयोग होस् र आय बढोस् भन्ने उद्देश्य कार्यक्रमको रहेको बताउँछन् ।

व्यवस्थापन अभावमा विसं २०६४ मा चर्खा कार्यक्रम बन्द भएको बुद्धिमाया बताउँछिन् । विसं २०७० को जेठ महिनादेखि कार्यक्रम पुनः सन्चालनमा आयो ।