
पछिल्लो समय भारत र चीन, अमेरिका र उत्तर कोरिया, कतार र अन्य अरब मुलुकबीच तनावको स्थिति छ । यीमध्ये भारत र चीन तथा अमेरिका र उत्तर कोरियाबीचको तनावलाई बढी गम्भीरतापूर्वक हेर्न थालिएको छ ।
भारत र चीनबीच करिब डेढ महिनादेखि तनाव बढेको हो । भुटान, भारत र चीनको संयुक्त सीमा क्षेत्रमा तनाव बढेको हो । सो क्षेत्रमा चीन र भारतका सेना आमने–सामने भएर बसेका छन् ।
भारतीय रक्षा मामलाका विज्ञका अनुसार कुनै पनि समय दुई देशबीच युद्धको सुरुवात हुन सक्छ । चीन अहिले आफ्नो सेनाको स्थापना दिवस मनाइरहेको छ । केहीदिनमा चीनले औपचारिक कार्यक्रम सकेर भारतसँगको सीमा क्षेत्रमा ध्यान केन्द्रीत गर्न सक्ने सम्भावना भारतीय रक्षा विज्ञले औंल्याएका छन् ।
केही दिनअघि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चीन भ्रमण गरेका थिए । भ्रमणमा उनले चिनियाँ कमकक्षीसँग विवाद सुल्झाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।
चीनले विवादित क्षेत्रबाट भारतीय सेना फिर्तालाई पहिलो र अनिवार्य शर्तका रुपमा अघि सारेको छ । चीनले केही वर्षदेखि भारतसँगको सीमा क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाएको छ भने आधारभूत संरचना निर्माणमा पनि ठूलो लगानी गरेको छ ।
सैन्य बेस निर्माण, रेल संजाल विस्तार, सेनाको संख्या बढाउने, हतियार तैनाथ बढाउने जस्ता कार्यमा चीनले विशेष जोड दिदैं आएको छ । त्यसैले पनि भारतसँगको विवादलाई चीनले सामान्य रुपमा नलिने अड्कल धेरैले गरेका छन् ।
भारत भने सामरिक महत्वको सो क्षेत्रमा चिनियाँ गतिविधि बढेकोमा चिन्तित छ । त्यसैले पनि त्रिदेशीय सीमा क्षेत्रमा चीनको गतिविधि रोक्नका लागि भारतले ध्यान केन्द्रीत गर्दै आएको छ । दुवै देशबीचको यो तनावले युद्धको रुप धारण गर्ने हो कि भन्ने चिन्ताले बाँकी विश्वलाई सताएको छ । दुबै मुलुक परमाणु शक्ति सम्पन्न भएकाले पनि युद्धको अवस्थामा धेरै ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित छ ।
भारत र चीनबीच युद्धको अवस्थामा दुई महाशक्ति राष्ट्र अमेरिका र रुसको भूमिका महत्वपूर्ण हुने देखिन्छ । अमेरिकाले तत्काल कुनै पक्षको समर्थन गरेको छैन । यद्यपि चीनको तुलनामा भारतसँग अमेरिकाको बढी झुकाव देखिन्छ । रुस चीनको परम्परिक मित्र राष्ट्र हो । त्यसैले रुसले भने भारतको तुलनामा चीनलाई बढी महत्व दिने देखिन्छ ।
त्यस्तै उत्तर कोरिया र अमेरिकाबीच पनि उत्तिकै तनाव छ । उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल परीक्षण गर्दै आएको परिस्थितिमा अमेरिकाले रक्षा प्रणालीको परीक्षणलाई जोड दिएको छ । उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र परीक्षणबाट पुरा अमेरिका आफ्नो निशाना क्षेत्रमा आएको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो गतिविधि कम गरेको छैन । अमेरिकाले भने अब धैर्य गर्ने दिन सकिदैं गएको बताएको छ । यी दुई मुलुकबीचको तनावले पनि तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने अनुमान धेरैले गरेका छन् ।
यस अतिरिक्त दुई महाशक्ति अमेरिका र रुसबीच पनि पछिल्लो दिन तनाव बढेको छ । सिरिया मामलामा दुवै देश फरक रणनीतिका साथ उभिएका छन् भने अमेरिकी संसदले हालै रुसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि रुसले पनि आफ्नो मुलुकमा रहेका अमेरिकी कुटनीतिक कर्मचारीको संख्यामा भारी कटौती गराउने भएको छ ।
अन्तर्राष्ट्रियस्तरमा ठूला र शक्तिशाली मुलुकहरुबीचको यो तनाव र युद्ध उन्मादले विश्वयुद्धको खतरा मडारिएको त होइन भन्नेमा बाँकी विश्वलाई चिन्तित तुल्याउनु स्वाभाविक नै हो । (एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्