काठमाडौं, माघ ११ । युएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।
दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीको मैदानमा शुक्रबार भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको हो ।
११४ रनको सामान्य चुनौती युएईले ३२ ओभर १ बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालले कसिलो बलिङ गरे पनि आठौं विकेटका लागि अमिर हायात र इम्रान हैदरबीच अविजित ४३ रनको साझेदारी भएपछि पराजय टार्न सकेन । हायातले २४ तथा हैदरले १८ रन जोडे ।
युएईले ७३ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो ।
पारस खड्का, सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने सोमपाल कामीले १ विकेट झारे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल ३३ ओभर ५ बलमा ‘अलआउट’ हुँदै ११३ रनमा समेटिएको थियो ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि सोमपालले ३०, आरिफ शेखले २५, पारसले २० तथा सन्दीपले १५ रन बनाए ।
युएईका मोहम्मद नाभिद र अमीर हायातले ३/३ विकेट लिए ।
यही खेलबाट नेपालका विनोद भण्डारी, पवन सर्राफ र ललितनारायण भण्डारीले एकदिवसीयमा ‘डेब्यु’ गरेका छन् ।
नेपालले युएईसित तीन खेलको एकदिवसीय शृंखला खेलिरहेको हो । दोस्रो खेल शनिबार हुनेछ । तेस्रो खेल सोमबार हुनेछ ।
नेपालले युएईसित एकदिवसीयपछि तीन खेलको ट्वेन्टी–२० शृंखला खेल्नेछ ।











प्रतिक्रिया दिनुहोस्