
पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।
मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरी मतदानलाई शान्तिपूर्ण बनाउने तयारी पूरा भएको घिमिरेले जानकारी दिए । बिहीबार बिहानैदेखि वर्षा भएपनि चुनौतीका बाबजुद् तयारी पूरा भएको छ ।
शुक्रबार पनि वर्षा हुनसक्ने सम्भावना रहेकाले मतदानस्थलमा टेन्ट राखेर पानीको प्रभाव नपर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।
वर्षाले नारायणगढ–मुग्लिन सडकखन्डमा पहिरो खसेपछि काठमाडौं र अन्य स्थानबाट आउने मतदातालाई भने समस्या परेको छ ।
भरतपुर–१९ मा तीनओटा मतदानस्थलमा ६ ओटा मतदान केन्द्र कायम गरिएको छ । ती मतदान केन्द्रमा जम्मा ४ हजार ७९७ मतदाता रहेका छन् ।
वैशाख ३१ गते भएको निर्वाचनकाक्रममा यो वडाबाट २ हजार ८९७ मत खसेको थियो ।
गत जेठ १४ गते राति मतगणनाकाक्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातीदिएपछि सर्वोच्च अदालतको आदेशअनुसार १९ नम्बर वडामा शुक्रबार पुनः मतदान गर्न लागिएको हो ।
भरतपुरको मेयरमा नेपाली कांग्रेस र माओवादी केन्द्रका रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच प्रतिस्पर्धा छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्