निकासी पैठारी व्यवसायलाई व्यवस्थित गर्न सरकारले साउन १ गतेदेखि एक्जिम कोड अनिवार्य गरेको थियो । तर धेरै व्यवसायीले एक्जिम कोड नलिँदा आयात–निर्यात घटेको हो ।
गत आर्थिक वर्ष २०७३/७४ मा लक्ष्यभन्दा ४ अर्ब ६८ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको भैरहवा भन्सार कार्यालयमा एक्जिम कोड लागू गरिएपछि चालु आर्थिक वर्षको सुरुमा निकै कम राजस्व असुली भइरहेको छ ।
भन्सार कार्यालय भैरहवाले गत आर्थिक वर्षमा २ खर्ब ३ अर्ब ४० करोड रूपैया बराबरको बस्तु तथा सामग्री आयात हुँदा भन्सार शुल्क, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क बापत ६२ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । भन्सार विभागले ५७ अर्ब ३४ करोड राजस्व संकलनको लक्ष्य तोकेकोमा लक्ष्यभन्दा आठ प्रतिशत बढी संकलन गर्न सफल भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले बताए ।
कार्यालयलाई चालु आर्थिक वर्षमा ८१ अर्ब ४३ करोड रुपैयाँको लक्ष्य दिइएको शाक्यले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा दैनिक १५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको भैरहवा भन्सारले साउन यता भने दैनिक ५/६ करोडमात्र संकलन गर्दै आएको छ ।
एक्जिम कोड भर्खर लागू गरिएकाले प्रमाणपत्र लिएका ब्यवसायीले आयात–निर्यात सुरु नगरेको र भारतमा पनि जिएसटीले लागू भएकाले राजश्व घटेको कार्यालयले जनाएको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले हालसम्म ५ सय व्यवसायीले मात्र एक्जिम कोर्ड लिएको बताए ।
आयात, निर्यातलाई व्यवस्थित गर्न भन्सार विभागले देशका सबै नाकामा एक्जिम कोड अनिवार्य गरेको छ । व्यवसायीहरुले व्यापार व्यवसायमा देखिएका बेथिती रोक्न एक्जिम कोड आवश्यक रहे पनि साना व्यवसायीलाई समस्या हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
आयात, निर्यातको कारोबार गर्ने व्यवसायीले एक्जिम कोड प्राप्त गर्न प्रचलित कानुन बमोजिम नियमित रूपमा कर बुझाउँदै आएको, चुक्ता पुँजी १० लाख वा सो भन्दा बढी हुनुपर्ने प्रावधान छ । आयातकर्ताले अब ५० हजार मूल्यभन्दा माथिको सामान ल्याउँदा अनिवार्य एक्जिम कोड लिएको हुनुपर्छ ।
५० हजारसम्मको सामान आयात र ५ लाखसम्मको निर्यात गर्ने व्यवसायीले एक्जिम कोड लिन जरुरी छैन ।
भिडियो रिपोर्ट हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्