१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


भरतपुर–१९ मा शान्तिपूर्ण निर्वाचन, ज्ञवाली र दाहालले के भने ? (भिडियो)


0
Shares

माओवादीले मतपत्र च्यातेपछि उत्पन्न विवादमा सर्वोच्च अदालतले पुनः मतदान गर्न आदेश दिएपछि शुक्रबार मतदान सम्पन्न भएको हो ।

बिहानैदेखि परेको झरीका बाबजुद् पनि भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा शुक्रबार शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको छ ।

झरीको कुनै प्रवाह नगरी उत्साहपूर्णरुपमा लाइन बस्न पुगेका मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएपनि कुनै चुनौती नआएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

शारदानगर मावि, किरणगन्ज गुरुङ मावि र जीवनज्योती प्रावि गरी तीनओटा मतदानस्थल तोकिएको थियो ।

मतदानस्थलमा भेटिएकी नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी प्रमुख पदका उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली दुवैले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । भरतपुर महानगरको प्रमुखमा दाहाल र ज्ञवालीबीच प्रतिस्पर्धा रहेको छ ।

वडा नम्बर–१९ मा कुल ३ हजार ७९७ मत रहेकोमा २ हजार ८७० अर्थात् ७५.५८ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यो मत यसअघिकोभन्दा २७ मत कम हो ।

यसअघि, पहिलो चरणअन्तर्गत् वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा यस वडामा २ हजार ८९७ मत खसेको थियो ।

गत जेठ १४ गते मध्यरातमा भरतपुर–१९ को मतगणनाकाक्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो ।

निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको भोलिपल्टै एमालेका प्रतिनिधिले सर्वोच्चमा रिट दायर गरेपछि भरतपुर प्रकरण लम्बिएको थियो ।

राजनीतिक दलहरुबीच सहमति जुटाएर मतगणना अघि बढाइनेछ । २९ ओटा वडामध्ये २० नम्बर वडाको पनि मतगणना बाँकी छ ।

भिडियो हेर्नुहोस्