-रवीन्द्र गौतम/ईमेज
निर्माणाधिन लामासाँघु–चरिकोट सडक, भुकम्प, अति बर्षा र मजदुर अभावको कारण प्रभावित बने पनि आयोजनाको काम हालसम्म ९० दशमलब ५ प्रतिशत निर्माण सम्पन्न भएको हो ।
लामोसाँघु–चरिकोट सडकका ठेकेदारहरुको चरम लापरवाहीका कारण आवश्यक निर्माण सामाग्रीहरु ढुवानीमा कठिनाई हुँदा लक्ष्य अनुसारको काम सम्पन्न गर्न नसकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
भारी बर्षाका कारण पनि निर्माणाधीन सडकमा ठुला भारी सामानहरु ढुवानी गर्न समस्या भएकाले बैकल्पिक रुपमा खुर्कोट र खिम्ती हुँदै आयोजनास्थलसम्म ढुवानीको व्यवस्था मिलाईएको आयोजनाका प्रबक्ता डा. न्यौपानेले जनाए ।
सडककै कारण आयोजनाका लागि आवश्यक ठुला उपकरणहरु तथा पेनस्टक पाईपहरु सिन्धुपाल्चोकको सुनकोशी बिद्युतगृहमा भण्डारण गरिएको छ ।
माथिल्लो तामाकोशी आयोजनाले मुख्य सिभिल संरचनाअन्तर्गत टेलरेस सुरुङ खन्ने कार्य, बिद्युतगृह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य भने सतप्रतिशत सम्पन्न गरेको छ ।
आयोजनाले मुख्य सुरुङ खन्ने कार्य ९३ प्रतिशत, हेडवक्र्स कंक्रिट कार्य ८९ दशमलब ५ प्रतिशत निर्माण सम्पन्न गरेको जनाएको छ ।
यस्तै, अडिट लगायत अन्य सुरुङहरु खन्ने कार्य ८५ दशमलब ३ प्रतिशत, बिद्युतगृह र ट्रान्सफर्मर क्याभर्न कंक्रिट कार्य ८३ दशमलब ८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।
तामाकोशी आयोजनाको अनुमानित लागतभन्दा ७ अर्ब ४३ करोड रकम बढि लाग्ने भएको छ ।
आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड लाग्ने लक्ष्य लिएपनि लक्ष्यभन्दा बढि ४१ अर्ब ७२ करोड रुपैयाँ लाग्ने भएको हो ।
आयोजना निर्माणका लागि हालसम्म ३४ अर्ब ६४ करोड खर्च भैसकेको आयोजना प्रबक्ता डा. न्यौपानेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्