१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


भरतपुरमा उल्लास, ‘चितवनकै छोरी, चितवनकै बुहारी’ भन्दै रेणुको चर्चा(भिडियो)


0
Shares

निर्वाचन भएका ५ वटा महानगरमध्ये भरतपुरमा मात्रै मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएका हुन् । उपमेयरमा भने नेपाली काँग्रेसकी पार्वती शाह विजयी भइन् ।

मेयरमा विजयी भएसँगै रेणुको चर्चा चुलिएको छ । बधाई र शुभकामनाहरु आइरहेका छन् । खुशीयालीमा काँग्रेस–माओवादीको संयुक्त गठबन्धनले आज विजयी जुलुस गरिरहेको छ ।

विहान ११ बजेबाट भरतपुरस्थित चौविसकोठीबाट विजयी जुलुस सुरु नारायणगढको पुल्चोकमा पुगी समापन हुने बताइएको छ ।

को हुन रेणु ?

मेयरमा विजयी भएपछि रेणु दाहाललाई ‘चितवनकै छोरी, चितवनकै बुहारी’ उपमा दिएर प्रशंसा भइरहेको छ ।

वि.स. २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन् ।

२०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध सुरु भएसँगै भूमिगत भएकी थिइन् ।

प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिवको जिम्मेवारीमा पनि छन् । दाहाल काठमाडौँका जिल्ला सहसचिव हुँदै हाल पार्टीको पोलिटब्यूरो सदस्य रहेकी छन् ।