Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


ठेकेदारको चरम लापरवाही: सडक र पुल नबन्दा करोडौं नोक्सान (भिडियो)


0
Shares

साढे २७ किलोमिटर सडक विस्तारको जिम्मा पाएको सडक विस्तार आयोजनाले ठेक्का व्यवस्थापन गरेका अन्य ठाउँको काम सन्तोषजनक भए पनि भैरहवामा निर्माणाधीन सडकले भने गति लिन नसकेको जनाएको छ ।

२ दशमलव १ एक किलोमिटर सडक र डण्डा पुल निर्माणको जिम्मा पाएको कालिका तामाङ प्यासेफिक जेभिले ठेक्का सम्झौता गरेदेखि अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ ।

सन् २०१४ जुन १६ मा ठेक्का सम्झौता गरेको कालिका तामाङ प्यासेफिक जेभिले २०१६ जुलाई १६ मा काम गरिसक्ने जिम्मेवारी पाएको थियो । उसले तीन पटक म्याद थप गरेरसमेत आशालाग्दो काम गर्न सकेको छैन ।

व्यापारिक मार्ग बिस्तार आयोजना वेलहिया बुटवल सडकका निमित्त प्रमुख एवम् ईन्जिनियर लीलाबहादुर भण्डारीले तीन पटकसम्म म्याद थप गर्दा पनि काम गर्न नसक्ने कालिका तामाङ जेभिलाई हर्जना तिराएर मात्रै म्याद थपको प्रक्रिया अगाडि बढाइने बताए ।

ठेकेदार कम्पनीको लापरवाहीकै कारण वेलहियाको डण्डा पुल नजिक, बर्मेली टोल र बुद्धचोक तथा भैरहवास्थित विद्युत् कार्यालय अगाडिको सडक दुर्घटनाग्रस्त क्षेत्रको रुपमा परिणत भएको छ ।

ईन्जिनियर एवम् साईट ईन्चार्ज योगेन्द्रबहादुर अधिकारीले बीचबीचमा मात्रै सडक निर्माण भएकाले सडक प्रयोगकर्तालाई समस्या भएको बताए ।

उनले डण्डा पुल निमार्णको जिम्मा पाएका ठेकेदारले समेत सडक भत्काउनुका साथै काममा ढिलाई गर्दा यात्रुलाई समस्या परेको बताए ।

सडक निर्माणमा भएको ढिलाई व्यापारीले करोडौंको घाटा बेहोर्नुपरेको छ । उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले धुलो र हिलोका कारण करोडौंको सामान नोक्सान भएकाले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने बताए ।

निर्माणको जिम्मा पाएको कालिका तामाङ प्यासेफिक जेभिका ईन्जिनियर रामु ज्ञवालीले विगतमा आफूहरुको कमजोरीका कारण निर्माणमा केही ढिलाई भएको स्वीकार गरे । उनले आगामी ३-४ महिनाभित्र सम्पूर्ण काम सक्ने जानकारी दिए ।

आयोजना निर्माणको ठेक्का लिने व्यवसायीले समयमै काम सक्ने प्रतिबद्धता जनाउने गरेका हुन्छन् ।

तर ठेक्का लिइसकेपछि अधिकांश ठेकेदारले विभिन्न समस्या देखाउँदै काममा ढिलाई गर्ने गरेको उदाहरण यहाँ पनि देखिएको छ ।

यस्ता ठेकेदारलाई तत्काल कारबाही नगरेसम्म न त सरकारले भनेको समयमा काम सम्पन्न हुन्छ न सर्वसाधारणले नै राहत पाउन सक्छन् ।