काठमाडौं, माघ ८ । संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार दुबई गएको छ ।
नेपाली टोली मंगलबार अपराह्न फ्लाइ दुबईमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई गएको हो ।
युएईसँग पारस खड्काको नेतृत्वमा रहेको नेपालले तीनओटा एकदिवसीय र तीनओटा ट्वेन्टी–२० खेल खेल्नेछ ।
नेपालले माघ ११ देखि १४ गतेसम्म एकदिवसीय क्रिकेट शृंखला खेल्नेछ । त्यसपछि माघ १७ देखि २० गतेसम्म टी–२० क्रिकेट शृंखला खेल्नेछ ।
नेपाली टोलीमा यसपटक चार नयाँ अनुहार समेटिएका छन् । सन्दीप जोरा, अभिनाश बोहोरा, भीम सार्की र पवन शर्राफले पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा ठाउँ बनाएका हुन् ।
चार वर्षका लागि एकदिवसीय मान्यता पाएको नेपालको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुनेछ ।
यसअघि, मंगलबारै प्रतियोगितामा सहभागी हुने टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्