
ती क्षेत्रमा ठूलो संख्यामा पशुपक्षीसमेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा व्यापकरुपमा दुगन्ध फैलिएको छ ।
त्यो क्षेत्रमा उद्धार र मानवीय सेवाका लागि त्यहाँ पुगेका सेवाग्राहीमासमेत हैजाको त्रास देखिएको छ ।
सबैभन्दा बढी नोक्सानी भएको इटहरीको सो क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै विभिन्न राजनीतिक दल सामाजिक संघ–संस्थालगायतले पुरिएका र भत्किँएका घरको उत्खनन् गर्ने कार्यमा संलग्न मानिसमा पनि हैजाको संक्रमण फैलनसक्ने अवस्था रहेको छ ।
इटहरीको बूढीखोला किनारमामात्र झन्डै दुई हजार मानिस विस्थापित भएका र ती सबै अहिले इटहरी उपमहानगरपालिका क्षेत्रका मन्दिर, विद्यालय एवं अन्य स्थानमा आपत्कालीन शरणमा बसेका पीडितमा स्वास्थ्य समस्या देखिएको छ । त्यहाँ अत्यावश्यक औषधि आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
बूढीखोला पूर्व र पश्चिमपट्टिको मानवबस्तीमा बाढीमा परेर कति चौपाया बगेर बेपत्ता भए वा पुरिए भन्ने अझैपनि तथ्यांक सार्वजनिक भएको छैन ।
ती बस्तीका घरपालुवा गाईभैंसी बाख्रा, सुगुरसमेत धेरै बाढीको लेदोमा पुरिएको तथा बाढीमा परेर बेपत्ता भएका मानिसकोसमेत शव फेला नपरेकाले त्यो क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।
बाढीबाट विस्थापित परिवारका घर तत्काल बसोवास गर्नसक्ने अवस्थामा नरहेकाले तिनको मर्मत र पुनःनिर्माण गर्ने कार्यमा करोडौं रुपैयाँ लाग्नसक्ने अनुमान गरिएको छ ।
बाढीग्रस्त क्षेत्रमा पिउनेपानी व्यवस्थापन वा सहयोग गरिदिन बाढी प्रभावितले आग्रह गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्