
भारतले बनाएको ब्यारेजका कारण धेरै नेपालीले दुःख पाएको भन्दै सुनसरी र सप्तरीका स्थानीयले तत्काल सम्झौता खारेज गर्न माग गरेका छन् ।
वि.स. २०२२ सालमा निर्माण भई सञ्चालनमा आएको कोसी ब्यारेजको आयु २०७२ सालमै सकिएको छ ।
सामान्यतः यस्ता ब्यारेजको आयु ५० वर्ष मात्र हुने गर्दछ । कोसी सम्झौता अनुसार कोसी ब्यारेजको म्याद सकिना साथ अर्को ब्यारेज बनाउने सहमति भए पनि भारतले भने जीर्ण कोसी ब्यारेजको पुनःर्निर्माण गरेको छैन ।
जीर्ण कोसी ब्यारेजको पुनःर्निर्माण नगरी भारतले धराप थापेर नेपालीलाई त्रसित बनाइरहेको आरोप स्थानीयको छ ।
नेपालको हित विपरित रहेको कोसी सम्झौता खारेजी गरी कोसी आसपासका वासिन्दाको जीवन गुजारालाई सहज बनाईदिन स्थानीयले माग गरेका छन् ।
जीर्ण बनेको कोसी व्यारेजका फलामका रेलिङ खिया लागेर काम नलाग्ने भएका छन् भने आरसीसी ढलान पिल्लरहरुमा समस्या आएका कारण यातायातका साधन सञ्चालन हुँदा ब्यारेज नै हल्लिन थालेको छ ।
कोसीमा ब्यारेज बनेयता २० हजार नेपालीले घरखेत गुमाउनुपरेको छ । उनीहरुले राहत र क्षतिपुर्ति दिलाउने पहल गरिदिनसमेत सरकारलाई आग्रह गरेका छन् ।
कोसी सम्झौताअनुसार सप्तकोसी नदीले विस्तापित बनाएकाहरुलाई भारतले उचित क्षतिपूर्ति र राहत दिनुपर्ने उल्लेख गरिए पनि ५२ बर्ष वितिसक्दा समेत कोसी पीडितले कुनै राहत र क्षतिपूर्ति नपाएको सुनसरी कोसी गाउँपालिकाका अध्यक्ष अहिव अन्सारी बताउँछन् ।
२०११ सालमा नेपालका तत्कालिन राजा महेन्द्र शाह र भारतका तत्कालिन प्रधानमन्त्री जहरुलाल नेहरुबीच भएको दुईपक्षीय कोसी सम्झौताअनुसार सप्तकोसी नदीमा ५६ ढोके ब्यारेजको निर्माण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्