Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री


0
Shares

नुवाकोटमा कार्यालय नै राखेर सन्चालनमा रहेको अक्सफामको बट्टारस्थित गोदामघरमा रहेका मन्जन, लुगाधुने र नुहाउने साबुन, सिमेन्टलगायतका राहत सामग्रीको म्याद सकिएको भेटिएको हो ।

जिल्लाका साविक ९ गाविसमा क्रियाशील रहेको संस्थाले भूकम्पपीडितलाई वितरण गर्न र भूकम्पले क्षति पुर्‍याएका खानेपानी आयोजना निर्माण गर्न ल्याएको सिमेन्टको समयमै काम नहुँदा म्याद सकिएको हो ।

अक्सफामले राहत वितरण गर्न तयार बनाएको २०० थान ‘हाइजेनिक किट्स’मा राखिएका साबुन, मन्जनलगायतका सरसफाइका सामग्रीको म्याद सकिएको छ ।

ती सामान भूकम्पपछिको पहिरोको कारण विस्थापित भएकालाई वितरण गर्न नुवाकोट ल्याइएको थियो ।

यस्तै, संस्थाको गोदाममा रहेका ११४ बोरा सिमेन्टको म्याद सकिएर काम नलाग्ने भएको अक्सफामका जिल्ला संयोजक अरुण पौडेले स्वीकार गरेका छन् ।

राहत वितरणमा प्रभावकारी काम नगरेको आरोप लाग्दै आएको अक्सफामले भने स्थानीय तहको निर्वाचन र त्यसपछि वर्षा सुरु भएकाले काम गर्न नपाउँदा राहत सामग्रीको म्याद सकिएको दाबी गरेको छ ।

‘चुनावले गर्दा वैशाख महिनाभर काम गर्न पाएनौं’–संयोजक पौडेलले भने–‘त्यसपछि बर्खायाम सुरु भएकाले लैजानुपर्ने स्थानमा पुर्‍याउन नसक्दा म्याद गएको हो, त्यसलाई नस्ट गर्ने तयारी गरेका छौं ।’

गोदाममा रहेका सामग्रीको लेबल हेर्दा मंसिरदेखि फागुन महिनाभित्र नै म्याद सकिएको पाइएको छ ।

म्याद गुज्रिएका सामग्रीको मूल्य रु तीन लाख हाराहारीमा रहेको संस्थाले जनाएपनि यकिन विवरण बाहिर ल्याएको छैन ।

राहत सामग्रीको म्याद सकिएको सम्बन्धमा जिल्लाका नियामक निकाय भने बेखबर छन् । रासस