बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ ।
कृषि कार्यालय धनुषाका मत्स्य विकास अधिकृत लक्ष्मीनारायण भगतले पनि माछाखेतीमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताए । उनले पनि बाढीले माछाखेती गर्ने किसानलाई निकै ठूलो नोक्सानी भएको बताए ।
मत्स्य विकास तथा तालीम केन्द्र जनकपुरका अधिकृत शशिकुमार मिश्रले माछापालन गर्न तयार गरिएका १० लाख साना भुरा र दुईलाख फिंगर माछा बाढीले बगाएको छ । अधिकांश ठाउँमा पोखरीको डिल भत्केर माछा बगेको छ ।
महेन्द्रनगरका व्यवसायी रामशोभित मुखियाले क्षीरेश्वरनाथ महेन्द्र नगरमा सातओटा माछा नर्सरी, दुईओटा पोखरीमा रहेको माउ माछा र सखुवास्थित ३१ भन्दा बढी पोखरीमा रहेका तयारी माछा बाढीले बगाएको बताए । उनले रु एककरोडभन्दा बढीको नोक्सानी भएको बताए ।
सबैला नगरपालिकामा १२ बिघामा रहेको कुस्माहा पोखरीको माछासमेत बाढीले बगाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्