Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


अर्बौं घाटा व्यहोरेको विद्युत् प्राधिकरणले गर्‍यो वित्तीय अवस्थामा आमूल सुधार


0
Shares

प्राधिकरणको ३२औं वार्षिकोत्सवको अवसरमा बिहीबा राजधानीमा आयोेजित कार्यक्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ सन्चालन नाफा भएको प्रतिवेदन प्रस्तुत् गरे ।

आर्थिक वर्ष २०७२/७३ मा ३ अर्ब ६ करोड ३९ लाख सन्चालन घाटा थियो । प्राधिकरणको खुद नोक्सानीसमेत करोडमा झरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानी व्यहोरेको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा यसलाई ९७ करोड ८९ लाखमा झार्न सफल भएको छ ।

गत असोजमा कार्यकारी निर्देशक नियुक्त भएपछि घिसिङले प्राधिकरणको चुहावट नियन्त्रणमा ध्यान दिँदै आएका छन् । घिसिङले लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्ति एवं चुहावट नियन्त्रण गर्न सफल भएका छन् । जसको सकारात्मक प्रभाव वित्तीय प्रगतिमा पनि देखिएको हो ।

वार्षिकोत्सवमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरण व्यावसायिक संस्था भएकाले प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने बताए ।

विद्युत् व्यापारमा प्राधिकरणको एकाधिकार नहुने भन्दै निजी कम्पनीसँग प्रतिस्पर्धा गर्नसक्ने गरी तयार हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्री शाहीले प्राधिकरणभित्रको व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गरे । उनले प्राधिकरणका कर्मचारी ग्राहकमैत्री नभएको भन्दै सचेत गराए ।

मन्त्री शाहीले प्राधिकरणकाबारेमा गुनासो गर्न नागरिकका लागि मन्त्रालयले हटलाइन सेवा आरम्भ गर्न लागेको भन्दै त्यसमा उजुरी आएमा प्राधिकरणका कर्मचारीलाई कारबाही गर्ने चेतावनी पनि दिए ।