अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)
काठमाडौं, माघ ७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सोमबारका बैठक अवरुद्ध पारेको छ ।
आफ्ना दुईजना पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालाई सरकारले विघटन गर्ने षड्यन्त्र गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो ।
प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि र राष्ट्रियसभाको बैठक माघ १४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सरकारले तनहुँको जीपी कोइराला स्वास–प्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत नराखेर खारेज गर्न खोजिएको भन्दै कांग्रेसले तत्कालै संघको मातहत ल्याउने निर्णय गर्नुपर्ने अडान राखेको छ ।
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिएका थिए ।
उपनेता गच्छदारले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणका अग्रज गिरिजाप्रसाद कोइराला र सुशील कोेइरालाको नामका अस्पताल खारेज गर्न खोजिएको आरोप लगाए ।
उनले कांग्रेसको नेतृत्वमा अहिलेसम्मका आन्दोलन र क्रान्तिहरुको उपलब्धि संस्थागत भएको स्मरण गर्दै ‘के यो सरकारले कांग्रेसको अस्तित्व मेटाउन खोजेको हो ?’ भन्दै प्रश्न गरे ।
उनले सरकारले यी दुई अस्पतालको अस्तित्व जोगाउन तत्काल गठन आदेशमार्फत् केन्द्र सरकारको मातहत नल्याए संसद अघि बढ्न नदिने चेतावनी दिए ।
उपनेता गच्छदारले यसरी विगतका निर्णय उल्ट्याउने हो भने बीपी कोइरालाका नाममा बनेपादेखि बर्दिवाससम्मको राजमार्गको नाम केपी ओली राजमार्ग नामाकरण गर्न र नेपाली सेनामा समायोजन भएका माओवादी लडाकूलाई पनि फिर्ता गर्न चेतावनी दिए ।
कांग्रेसको अवरोध जारी रहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरे ।
बैठक स्थगित भएपछि सभामुखसहित सत्तापक्ष र विपक्षबीच अवरोध हटाउन छलफल भएपनि सहमति हुन सकेन ।
दोस्रोपटक पनि सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षीदलका सांसदहरुले काम–कारबाही अगाडि बढाउन दिएनन् ।
गच्छदारले अनशनरत् डा. गोविन्द केसीसँगको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक ल्याइएकोमासमेत आपत्ति जनाएका थिए ।
कांग्रेसको अवरोधका कारण कार्यसूचीमा रहेको चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रस्तावमाथि पनि छलफल हुन सकेन ।
राष्ट्रियसभाको बैठक पनि दुईपटक स्थगित
कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठकपनि दुईपटक स्थगित भयो ।
पूर्वसभापतिद्वय कोइरालाका नाममा खोलिएका अस्पताललाई संघीय सरकारको मातहतमा ल्याएर सन्चालन गर्ने निर्णय नभएसम्म बैठक अगाडि बढ्न नसक्ने भन्दै विरोध गरेपछि दुईपटक बैठक स्थगित गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्